१४६ सांसदको हस्ताक्षरसहित संसद् पुरस्थापना गर्न सर्वोच्चमा रिट


काठमाडौँ, १० जेठ । १४६ सांसदको हस्ताक्षरसहित संसद् पुरस्थापना गर्न र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।

काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम भट्टराई पक्ष, एमालेको माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाका गरी १४६ सांसदको हस्ताक्षरसहित नेताहरूले आज सर्वोच्चमा पुगेका हुन् ।

आफूहरूसँग प्रस्ट बहुमत हुँदाहुँदै पनि देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेर असंवैधानिक कार्य गरेको दाबी गर्दै आफूहरू सर्वोच्च पुगेको बताए । 

संसदमा बहुमत देखाउन सक्दिनँ भनेर वैकल्पिक सरकार गठनका लागि अनुरोध गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीमा दाबी गर्नु कानुनी र नैतिक दुवै रूपले गलत भएको उनीहरूको जिकिर रहेको छ ।

जेठ ७ गते संविधानको धारा ७६ (५) अनुसारको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष १ सय ४९ सांसदले हस्ताक्षर बुझाएका थिए । तर, सो दाबीलाई राष्ट्रपतिले खारेज गरेर सोही मध्यराति नयाँ सरकार बन्ने दाबी नपुगेको भन्दै केपी शर्मा ओली सरकारको सिफारिसमा संसद् भङ्ग गरेर निर्वाचनको मिति तोकेपछि उनीहरू असन्तुष्ट हुँदै अदालतमा पुगेका हुन् । 

प्रतिक्रिया दिनुहोस्