धनुषा, १० जेठ । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भिडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते भएका छन् ।
मटिहानीमा अवस्थित २ नम्बर बोर्डरमा रहेको ढाट (घेरा बेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्ष समेत भारतीयहरूले तोडफोड गरी हटाएका छन् । बोर्डर आउट पोस्ट (बीओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०–६० भारतीयले मदिरा खाएर एक्कासि २ नम्बर बोर्डरमा खटिएका प्रहरीहरूमाथि ढुंगामुढा गरेका थिए । करिब आधा घण्टासम्म भारतीयहरूले गरेको ढुंगामुढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ भने उनले लगाएको पोसाक (चुस्ता) समेत ढुंगामुढा गर्नेहरूले च्यातिदिएका छन् ।
यता, भारतीय व्यापारीका अनुसार बीओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोरोनाको अवधिमा पनि आफूहरूसँग मोटो रकम लिएर लाइन (तस्करी गर्ने इजाजत) दिएकामा गए राति ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायत वस्तुहरू नेपाल ल्याउन सुरु गरेका व्यापारीमाथि बोर्डरमा खटिएका सशस्त्र प्रहरीले रोक लगाउँदै लाठीचार्ज गरेका थिए ।
सशस्त्र प्रहरीको लाठीचार्जबाट आठ भारतीय व्यापारी घाइते भएका छन् । उनीहरूले आफूहरू महिनावारी (महिनामा एकैचोटी) रकम दिएर लाइन लिएकामा सशस्त्र जवानहरूले सीमामा रोकेर थप पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन् । त्यसैगरी, स्थानीय प्रत्यक्षदर्शीहरुले पनि सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारीहरूलाई कुटपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि पनि ढुंगामुढा गरेको बताएका छन् । (रासस)