आगलागी पीडितलाई उद्योग वाणिज्य सङ्घको सहयोग


 सुन्दरहरैँचा, १० जेठ । मोरङको सुन्दरहरैंचाका आगलागी पीडित परिवारलाई सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घले सहयोग गरेको छ ।         

सुन्दरहरैँचा नगरपालिका ३ वडाको लक्ष्मीनारायण मन्दिर टोलमा मन कुमार धिमालको घरमा बहाल बस्ने दुर्गा पराजुलीको कोठामा ग्यास चुहावट हुँदा आगलागी भएको थियो ।                                            

आइतबार बिहान भएको आगलागीबाट धिमालको घरका दुईवटा कोठा जलेर नष्ट हुँदा ७ लाख बराबरको क्षति भएको  छ । आगलागी स्थानीय, गछिया प्रहरी र सुन्दरहरैंचा नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

आगलागीका पिडित परिवारलाई वडाध्यक्ष जीवन प्रसाद ढुङ्गानाको पहलमा सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घले भाँडाकुँडा, ओढ्ने ओछ्याउने, डसना, ब्ल्याङ्केट, तथा डेढ महिना सम्म पुग्ने गरी खाद्यान्न सामग्री र ग्यास चुलो वितरण गरिएको छ ।

सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष किशोर कार्कीले पिडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्दै जुनसुकै आपत्कालीन अवस्थामा हरेक पीडित मानिसको दुःखमा वाणिज्य सङ्घले सहयोग गर्दै आएको र भविष्यमा पनि यस्तै सहयोग गरिरहने प्रतिबद्धता जायर गरे ।

प्रतिक्रिया दिनुहोस्