संयुक्त रुपमा बुझाए नेपाल–खनाल पक्षका १४ प्रदेशसभा सांसदले स्पष्टीकरण पत्र


काठमाडौँ, १० जेठ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका १४ प्रदेश सांसदले एकमुष्ट रूपमा स्पष्टीकरण पत्र बुझाएका छन् ।

नेकपा एमालेका १४ जना बागमती प्रदेशसभा सदस्यहरूले पार्टीको संसदीय बोर्डमा स्पष्टीकरण पत्र बुझाएका हुन् ।

राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीको आधिकारिक उमेद्वारलाई मत नदिएको भन्दै बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित सांसदहरू राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मिना ज्ञवालीसँग स्पष्टीकरण मागेको थियो ।

प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नपाइए पार्टी विधानअनुसार उनीहरूलाई कारबाही गरिने नेकपा एमाले बागमती प्रदेशसभाका मुख्य सचेतक दीपक निरौलाले बताए । 

नेपाल पक्षको असहयोग गरे पछि राष्ट्रियसभाको उपनिर्वाचनमा संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका डा.खिमलाल देवकोटा नै विजयी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्