काठमाडौँ, ९ जेठ । नेकपा एमालेको विवाद चरमसिमामा पुगिरहेको बेलामा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका एक युवा नेताद्वारा निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन परेको छ ।
निर्वाचन आयोगमा नेकपा (एकीकृत) नामको दल दर्ताका लागि निवेदन परेको छ । दल दर्ताका लागि निवेदन दिने एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुका पूर्वनेता जीवन राई रहेका छन् ।
सङ्खुवासभा घर भएका निवेदक राई काठमाडौँस्थित पशुपति क्याम्पसका पूर्व विद्यार्थी नेता हुन् ।
२५ सदस्यीय नयाँ पार्टीको कार्यसमितिको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।
एमाले फुटको सङ्घारमा पुगेका बेला निर्वाचन आयोगमा एमालेकै युवा नेताद्वारा नयाँ दल दर्ताका लागि निवेदन दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।