बेलबारी सरोकार समाज कतारद्वारा मोरङ नेत्रहीन संघलाई रु.१ लाख ५ हजार सहयोग


बेलबारी, ९ जेठ । बेलबारी सरोकार समाज कतारले मोरङ नेत्रहीन संघलाई १ लाख ५ हजार ७ सय ७२ रुपैयाँ सहयोग गरेको छ । बेलबारी ३ स्थित मोरङ नेत्रहीन संघको कार्यालयमा हस्तान्तरण कार्यक्रमको आयोजना गरी बेलबारी सरोकार समाज कतार उपाध्यक्ष सन्तोष सुनामले सो रकम शनिवार हस्तान्तरण गरेका हुन ।

कार्यक्रमको प्रमुख अतिथि, बेलबारी नगरपालिका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष योगेन्द्र सुवेदीले यस्तो विषम परिस्थितिमामा पनि बेलबारी सरोकार समाज कतारद्वारा भएको सहयोगले धेरै ठुलो महत्त्व राख्ने बताएका छन् । यस बेला मोरङ नेत्रहीन संघलाई धेरै ठुलो सहयोग पुग्नेमा आशा व्यक्त गर्दै बेलबारी सरोकार समाज कतारलाई सुवेदीले धन्यवाद प्रदान गरे ।

हस्तान्तरण कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति मोरङका अध्यक्ष डि.पी राईले बेलबारी सरोकार समाज कतारको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन् । अत्यन्त दुख गर्दै वैदेशिक रोजगारमा रहेर स्थानीय ठाउँको लागि बेलबारी सरोकार समाज कतारले गरेको सहयोग अतुलनीय रहेको राईले बताए ।  

बेलबारी सरोकार समाज कतारका अध्यक्ष रोशन तामाङको नेतृत्वमा कतारमा कार्यरत नेपालीद्वारा संकलित रकम मोरङ नेत्रहीन संघलाई सहयोग गरेको उपाध्यक्ष सुनामले जानकारी दिएका छन् । सुनामका अनुसार वैदेशिक रोजगारमा भए पनि आफ्नो ठाउँमा सहयोग गर्ने उद्देश्यले कतारमा रोजगारमा भएका नेपालीहरूले रकम संकलन गरी विभिन्न नेपालमा आइपर्ने अपथकालीन अवस्थामा सहयोग गरी रहेका छन् ।

हस्तान्तरण कार्यक्रम, मोरङ नेत्रहीन संघका अध्यक्ष सिता बराइलीको अध्यक्षतामा सम्पन्न भएको हो । बेलबारी सरोकार समाज कतारलाई अध्यक्ष बराइलीले धन्यवाद व्यक्त गरेकी छिन । 

प्रतिक्रिया दिनुहोस्