काठमाडौँ, ८ जेठ । विपक्षी गठबन्धनले राष्ट्रपति र प्रधानमन्त्रीको संसद् विगठन गर्ने कदमविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।
शनिवार बसेको अपराह्न नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहितको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मिलेमतोमा राष्ट्रपतिबाट रातारात प्रतिनिधिसभा विघटन गर्ने निर्णय वदनियतपूर्ण कार्य भएको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
शुक्रवार नयाँ सरकार निर्माणका लागि प्रतिपक्षी गठबन्धनबाट देउवा र प्रधानमन्त्री ओलीको दाबी परेको थियो । तर राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने दुवै दाबेदारको आधार नदेखिएकोले ओली र देउवा दुवैलाई नियुक्त गर्न नमिल्ने निर्णय गर्दै मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति तोकेकी थिइन् ।
बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कार्य प्रतिगामी भएको पनि ठहर गर्दै त्यसको राजनैतिक तथा कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।