संसद् विघटनविरुद्ध निर्णय लिन विपक्षी गठबन्धनको बैठक सुरु


काठमाडौँ, ८ जेठ । संसद् विघटनविरुद्ध निर्णय लिन विपक्षी गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले शुक्रवार मध्यरातमा गरेको संसद् विगठन र मध्यावधि निर्वाचनको घोषणा लगायतका राजनीतिक घटनाक्रमका विषयमा साझा धारणा बनाउन विपक्षी गठबन्धनको बैठक सुरु भएको हो ।

बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सुरु भएको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई लगायत नेताहरू सहभागी छन् ।

यसअघि नै काँग्रेस सभापति देउवाको निवासमा बसेको काँग्रेसका शीर्ष नेताहरूको बैठकले विपक्षी गठबन्धनका तर्फबाट संयुक्त रूपमा कानुनी र राजनीतिक प्रतिरोध गर्ने निर्णय गरिसकेको छ । 

गठबन्धनको संयुक्त बैठकमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ जना सांसदहरू नै सर्वोच्च अदालतमा रिट लिएर जाने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

शुक्रवार साँझ पाँच बजेभन्दा अगावै नयाँ सरकार निर्माणका लागि प्रतिपक्षी गठबन्धनबाट देउवा र प्रधानमन्त्री ओलीको दाबी परेको थियो । तर राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने दुवै दाबेदारको आधार नदेखिएको तर्क गर्दै ओली र देउवा दुवैलाई नियुक्त गर्न नमिल्ने निर्णय गर्दै मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति तोकेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्