काठमाडौँ, ८ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई दुर्घटनातर्फ धकेल्नेलाई जनताले कहिल्यै क्षमा नगर्ने बताएका छन् ।
मध्यरातमा संसद् विगठन गरी देशलाई मध्यावधि निर्वाचनमा धकेलेको विषयलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा प्रस्तुत गर्दै पूर्व राज ज्ञानेन्द्र शाहले उक्त कुरा बताएका हुन् । पूर्व राजा शाहले राजनीतिक दलहरूले सत्ता र शक्तिको आडमा देशलाई दुर्घटनातर्फ धकेल्ने उद्यत रहेको पनि टिप्पणी गरेका छन् । उनले यस्ता शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने पनि बताएका छन् ।
पूर्व राजा ज्ञानेन्द्रले ट्वीटरमा लेखेका छन् ‘यस वैश्विक महामारीको सङ्कटका बेला जनदायित्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल सिर्जना गरी, जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन् ।’
शुक्रवार साँझ पाँच बजेभन्दा अगावै नयाँ सरकार निर्माणका लागि प्रतिपक्षी गठबन्धनबाट देउवा र प्रधानमन्त्री ओलीको दाबी परेको थियो । तर राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने दुवै दाबेदारको आधार नदेखिएकोले ओली र देउवा दुवैलाई नियुक्त गर्न नमिल्ने निर्णय गर्दै मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति तोकेकी थिइन् ।
संसद् विगठनको विषयलाई लिएर विपक्षी गठबन्दको बैठक बसिरहेको छ ।