सभामुख सापकोटा परिवर्तित घटनाक्रमका विषयमा परामर्श गर्दै


काठमाडौँ, ८ जेठ । मध्यरातमा प्रतिनिधि सभा विघटन गरिए पछि उत्पन्न विषयमा प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा प्रतिनिधि सभा विघटन गरेपछि उत्पन्न सङ्कटबाट देशलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले सघन छलफल सुरु गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

 सभामुख पछिल्लो राजनीतिक घटनाक्रम र त्यसले पार्ने असरबारे कानुनविद्, राजनीतिक पार्टीका शीर्ष नेता लगायतसँग छलफल गरिरहेको प्रेस सल्लाहकार न्यौपानेले जानकारी दिएका छन् ।

शुक्रवार साँझ पाँच बजेभन्दा अगावै नयाँ सरकार निर्माणका लागि प्रतिपक्षी गठबन्धनबाट देउवा र प्रधानमन्त्री ओलीको दाबी परेको थियो । तर राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने दुवै दाबेदारको आधार नदेखिएको तर्क गर्दै ओली र देउवा दुवैलाई नियुक्त गर्न नमिल्ने निर्णय गर्दै मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति तोकेकी थिइन् । 

संसद् विगठनको विषयलाई लिएर आ -आफ्नो धारणा बनाउन काँग्रेस, माओवादी केन्द्र लगायत अन्य दलका नेताहरूको बैठक बसिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्