काठमाडौं, ८ जेठ । पछिल्लो घटनाक्रमका बारेमा सल्लाह गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।
मध्यरातमा प्रतिनिधिसभा विगठन गरेर मध्यावधि निर्वाचनको मिति घोषणा भएपछि उव्जिएको परिस्तिीको बारेमा छलफल गर्न भनेर पदाधिकारीको तथा पूर्व पदाधिकारीहरूको बैठक डाकेका हुन् ।
बिहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बोलाइएको महामन्त्री शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिएका छन् । पार्टीका नेताहरुसँगको बैठकपछि देउवाले माओवादी केन्द्र, जसपा लगायतका अन्य दलका नेतासँग छलफल गर्ने तयारी गरेका छन् ।
नयाँ सरकार निर्माणका लागि प्रतिपक्षी गठबन्धनबाट देउवा र प्रधानमन्त्री ओलीको दाबी परेको थियो । तर राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने दुवै दाबेदारको आधार नदेखिएको तर्क गर्दै ओली र देउवा दुवैलाई नियुक्त गर्न नमिल्ने निर्णय गर्दै मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति तोकेकी थिइन् । संसद विगठनको विषयलाई लिएर कांग्रेस लगायतका अन्य दलका नेताहरुले चर्को विरोध गरेका छन् ।