काठमाडौँ, ८ जेठ । जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यावधि निर्वाचनको नाममा संघीय लोकतान्त्रिक संविधान खारेज गर्ने प्रपञ्च भएको बताएका छन् ।
सरकारको सिफारिसकामा शुक्रवार राति संसद् भङ्ग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मङ्सिर ३ का लागि निर्वाचनको मिति तोके पछि आफ्नो प्रतिक्रिया दिँदै पूर्वा प्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
उनले आफ्नो ट्विटरमा लेखेका छन् ‘भित्री–बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र–सेटिङ्गमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक–असंवैधानिक–प्रतिक्रान्तिकारी हर्कत सुरु भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म !’
उनले यो कुनै मध्यावधि चुनावको घोषणा नभएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च मात्र भएकोले एकजुट भएर अगाडि बढ्न आग्रह गरेका छन् ।
मन्त्रीपरिषद्को सिफारिसमा सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएको भन्दै राष्ट्रपतिले प्रतिनिधिसभाको विगठन गरी निर्वाचनको मिति तोकेकी थिइन् ।
राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएको भन्दै प्रतिनिधिसभाको विगठन गरी संविधानको धारा ७६ (७) बमोजिम दुई चरणमा चुनावको मिति तय गरेर राष्ट्रपतिसामु सिफारिस गरेका थिए । राष्ट्रपतिले पनि सरकारको उक्त निर्णयलाई सदर गरिदिएकी थिइन् ।
नयाँ सरकार निर्माणका लागि प्रतिपक्षी गठबन्धनबाट देउवा र प्रधानमन्त्री ओलीको दाबी परेको थियो । तर राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने दुवै दाबेदारको आधार नदेखिएको तर्क गर्दै ओली र देउवा दुवैलाई नियुक्त गर्न नमिल्ने निर्णय गर्दै प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति तोकेकी थिइन् ।