काठमाडौँ, ८ जेठ । आउँदो कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छिन् ।
मन्त्रीपरिषद्को सिफारिसमा सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएको भन्दै राष्ट्रपतिले प्रतिनिधिसभाको विगठन गरी निर्वाचनको मिति तोकेकी हुन् ।
राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएको भन्दै प्रतिनिधिसभाको विगठन गरी संविधानको धारा ७६ -७ बमोजिम दुई चरणमा चुनावको मिति तय गरेर राष्ट्रपतिसामु सिफारिस गरेका थिए ।
राष्ट्रपतिले सरकारको उक्त निर्णयलाई सदर गरिदिएकी थिइन् ।हिजो साँझ पाँच बजेसम्ममा नयाँ सरकार निर्माणका लागि प्रतिपक्षी गठबन्धनबाट देउवा र प्रधानमन्त्री ओलीको दाबी परेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग १५३ जना सांसदका समर्थन रहेको भन्दै नयाँ सरकारको नेतृत्वको दाबी गरेका थिए भने उता देउवाले पनि काँग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपाल समूहको सहयोगमा आफूसँग १४९ जनाको दाबी प्रस्तुत गरेका थिए ।
तर राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने दुवै दाबेदारको आधार नदेखिएको तर्क गर्दै ओली र देउवा दुवैलाई नियुक्त गर्न नमिल्ने निर्णय गर्दै प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेकी थिइन ।
संविधानको धारा ७६ -७ मा उपधारा ५ बमोजिम ‘प्रधानमन्त्री नियुक्त हुन नसके प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने’ व्यवस्था छ । यही धारामा टेकेर राष्ट्रपतिले संसद् विगठन गर्दै नयाँ चुनावको मिति तोकेकी छिन् ।
उता प्रतिपक्षी दलहरूले भने प्रधानमन्त्रीको षडयन्त्रमा राष्ट्रपतिले साथ दिएको आरोप लाएका छन् ।