काठमाडौँ, ७ जेठ । संविधानको संरक्षण गर्न नसकेको भन्दै नेपाली काँग्रेसका युवा नेता एवम् सांसद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदबाट हटाउनु पर्ने बताएका छन् ।
प्रधानमन्त्रीले संसद्मा विश्वासको मत नलिँदै राजीनामासमेत नगरेको अवस्थामा राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान गरेर असंवैधानिक कदम चालेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदबाट हटाउनु पर्ने बताएका हुन् ।
थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रक्रिया सुरु गर्ने हो ।’ उनले देशको सर्वोच्च निकायमा बस्नेले यसरी संविधान विपरित काम गरेकोमा रोष प्रकट गर्दै भनेका छन् ‘नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो ।’
’नेता थापाले अब ढिलो गर्न नहुने, सुझबुझकासाथ अघि बढेर नयाँ सरकार गठन गर्नु पर्नेमा जोड दिएका छन् । ‘गनगन गरेर नबसौँ । सुझबुझ पु¥याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौँ, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ ।’
थापा विगत लामो समयदेखि राष्ट्रपतिले गरेका निर्णयमा असहमति जनाउँदै आएका छन् । राष्ट्रपतिले तीनकरोड नेपालीको अभिभावक बन्न नसकेको उनको आरोप रहेको छ ।
उता जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टरईले प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोध गर्दै दुवैजनालाई ‘खुरापात शिरोमणि’को संज्ञा दिएका छन् ।