काँग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै


काठमाडौँ, ७ जेठ । नयाँ सरकार गठनका लागि छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्दैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि अपराह्न ५ बजेसम्मको समय दिएपछि यस विषयमा छलफल गर्नका लागि अहिले बिहान नेपाली काँग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्नलागेको हो । बैठक बिहान ९ बजे देउवा निवास निवास बुढानीलकण्ठमा तोकिएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा धारा ७६ को उपधारा ३ बमोजिम बनेको वर्तमान सरकारले विश्वासको मत पाउने आधार नदेखिएको भन्दै ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न आज पाँच बजे सम्मको समय प्रदान गरेकी छिन् ।

वैशाख २७ गते संसदमा भएको मतदानमा ओलीले विश्वास गुमाए पनि नयाँ सरकारका लागि दिइएको समयमा कतैबाट पनि दाबी प्रस्तुत नआए पछि संसद्को ठूलो दलको नेताको हैसियतले ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

ओली सपथको विषयलाई लिएर अदालतमा मुद्धा परेको र आफ्ना सातैजना गैरसांसद मन्त्रीहरूको नियुक्तिलाई सर्वोच्चले बदर गरिदिए पछि नैतिक सङ्कटमा परेका थिए । त्यसपछि उनले आफू विश्वासको मत लिने प्रक्रियामा नजाने र नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने बताएका थिए । सोही अनुसार राष्ट्रपतिबाट नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी थिइन् ।

प्रमुख प्रतिपक्षी दल काँग्रेसले भने यो कदमलाई असंवैधानिक कदमको संज्ञा दिएको  छ । 

प्रतिक्रिया दिनुहोस्