राष्ट्रपतिद्वारा नयाँ सरकार गठनकालागि आह्वान : भोलि पाँच बजे सम्मको समय प्रदान


 
काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भए पछि नयाँ सरकार निर्माणको प्रक्रिया सुरु भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा धारा ७६ को उपधारा ३ बमोजिम बनेको वर्तमान सरकारले विश्वासको मत पाउने आधार नदेखिएको भन्दै ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न भोलि पाँच बजे सम्मको समय प्रदान गरेकी छिन् ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखेकाले मार्ग प्रशस्त गर्ने भन्दै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसामु आह्वान गर्न अनुरोध गरेका थिए । 

वैशाख २७ गते संसदमा भएको मतदानमा ओलीले विश्वास गुमाएका थिए । त्यसपछि नयाँ सरकारका लागि दिइएको समयमा कसैले पनि दाबी प्रस्तुत नगरे पछि संसद्को ठूलो दलको नेताको हैसियतले ओली प्रधानमन्त्री नियुक्त भएका थिए । ओलीले जेठभित्र संसदबाट विश्वासको मत लिनुपर्ने थियो ।

ओली आफ्ना सातैजना गैरसांसद मन्त्रीहरूको नियुक्तिलाई सर्वोच्चले बदर गरिदिए पछि नैतिक सङ्कटमा परेका थिए । त्यसपछि उनले आफू विश्वासको मत लिने प्रक्रियामा नजाने र नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने बताएका थिए । 

नयाँ सरकार गठनका लागि भोलि ५ बजे सम्मको समय दिइएको छ । केहीले भने यति छोटो समयमा नयाँ सरकार गठन नहुने, यदि सरकार गठन भएन भने नयाँ सरकार गठन हुने आधार नदेखिएको भन्ने आडमा संसद् भङ्ग गर्ने प्रपञ्च को रूपमा लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्