उपनिर्वाचनको मत परिणाम साँझसम्ममा आउने


हेटौँडा, ६ जेठ । बागमती प्रदेशअन्तर्गत आज  भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मत परिणाम साँझसम्ममा आउने भएको छ ।

मतगणना सुरु भएको र त्यसको परिणाम साँझसम्ममा आउने निर्वाचन अधिकृतको कार्यालयमा जनाएको हो । 

बागमतीमा प्रदेशसभातर्फ ११० र स्थानीयतर्फ २३८ गरी ३४८ मतदाता रहे पनि आज भएको उपनिर्वाचनमा प्रदेशसभाका १०५ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख २३३ जना मात्र मतदानमा सहभागी भएका थिए ।  

नेकपा (एमाले)का तर्फबाट सर्वोच्च अदालतको आजको निर्णयबाट वर्खोस्तीमा परेका निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको तर्फबाट डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ उमेदवार रहेका छन् । 

आजको मतगणनाको परिणाम बादलको पक्षमा आउने अनुमान गरिएको छ । तर एमालेको आन्तरिक विवादले पूर्ण रूपमा समाधान नभइसकेकोले गर्दा नेपाल पक्षका केही र ओली पक्षका बादलसँग असन्तुष्ट रहेका केहीको भोट देवकोटाले पाउने सम्भावना पनि उत्तिकै रहेको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्