प्रधानमन्त्रीलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी


काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा विज्ञ तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो । 

प्रधानमन्त्री ओलीले र मन्त्री श्रेष्ठले राष्ट्रियसभा उपनिर्वाचनमा मौन अवधि सुरु भइसकेको अवस्थामा विज्ञप्ति निकालेर नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई मतदान गर्न अपिल गरेका थिए । 

निर्वाचन आचारसंहिता २०७२ (पाँचौँ संशोधन २०७४) अनुसार मौन अवधिमा पालन गर्नुपर्ने आचरणमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने उल्लेख छ । तर ओलीले भने पार्टीको लेटर प्याडकै प्रयोग गरेर भोटका लागि अपिल गरेका थिए । 

 ‘आचारसंहिता विपरीत सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरूलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको छ’ काँग्रेसले निर्वाचन आयोगले दिएको पत्रमा भनिएको छ । जेठ ५ गते बसेको काँग्रेस संसदीय बैठकले प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता विपरीत मत माग्ने वक्तव्य दिएको भन्दै भर्त्सना गर्ने निर्णय गरेको थियो । 

निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारबाही गर्न काङ्ग्रेसले माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्