काठमाडौँ, ६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज सिंहदरबारमा भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
कोरोना सङ्क्रमणबाट जनतालाई सुरक्षित राख्न ल्याइएको खोपमा भएको अनियमितता लगायतका विषयलाई समेटेर सभापति देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन ।
कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोप ल्याएर सबै नागरिकलाई लगाउन देउवाको माग रहेको छ ।पछिल्लो समय अस्पतालहरूमा देखिएको शैयादेखि अक्सिजनको अभाव तत्काल व्यवस्थापन मिलाउन पनि काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।काङ्ग्रेसले नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन पनि माग गरेको छ ।
प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रामशरण महतलगायत नेताहरू सिंहदरबार पुगेका थिए ।