विवेकशील साझा नो भोटको पक्षमा : राष्ट्रियसभा उपनिर्वाचनमा भाग लिएन



काठमाडौँ, ६ जेठ । विवेकशील साझा पार्टी ‘नो भोट’को पक्षमा उभिँदै आज भइरहेको राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।  

विगत लामो साययदेखि ‘नो भोट’को पक्षमा रहेको विवेकशील साझा पार्टीले आफ्नो माग पुरा नभएको र चुनावी मैदानमा प्रतिस्पर्धा तीनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले आफ्नो पार्टी मतदान प्रक्रियामा भाग नलिने बताएको छ । 

 विवेकशील साझा पार्टीको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले एक विज्ञप्ति जारी गर्दै पार्टी लामो समयदेखि नो भोट प्रणालीको पक्षधर रहेको तर आफूहरूको मागमाथि कुनै सुनुवाइ नभएकोले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको जानकारी दिए । ‘चुनावी मैदानमा प्रतिस्पर्धारत तीनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ । विवेकशील साझाले मतपत्रमा ‘नो भोट’ को विकल्प शीघ्र लागु गर्न सरकार र निर्वाचन आयोगसमक्ष माग गर्ने निर्णय पनि गरेको छ ।

निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, विपक्षी गठबन्धनको तर्फबाट संघीयताविज्ञ खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का कृष्णबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् । 


राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशसभा सदस्य, बागमती प्रदेश अन्तर्गतका पालिकाका प्रमुख र उपप्रमुखले मात्र भोट हाल्न पाउँछन् ।
एमालेको आन्तरिक विवादले गर्दा बादलको तुलनामा देवकोटाको पल्ला भारी भए पनि ओली र नेपाल पक्षबिचको भइरहेको पछिल्लो वार्ताले गर्दा बादलले जित्ने सम्भावना बढेको भए पनि वार्ता निष्कर्षमा नपुगेका, अझै पनि आफूहरूलाई उपयोग मात्र पो गर्ने हो कि भन्ने आशङ्काले गर्दा नेपाल पक्षका केही र ओली पक्षका पनि केही भोट देवकोटाले पाउने सम्भावना पनि उत्तिकै रहेको जानकारहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्