राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु : साँझबाट मतगणना सुरु हुने


हेटौँडा, ६ जेठ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । वर्तमान गृहमन्त्री रामबहादुर थापा वादललाई माओवादी केन्द्रले कारबाही गरेपछि उक्त रिक्त पदका लागि निर्वाचन भइरहेको हो । 

प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि आजै साँझबाट मतगणना सुरु गर्ने योजना छ । मतदानस्थल हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मत गणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको श्रेष्ठले जानकारी दिए ।


बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि केही ढिलो गरेर मतदान सुरु भएको छ । मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, विपक्षी गठबन्धनको तर्फबाट संघीयताविज्ञ खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का कृष्णबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशसभा सदस्य, बागमती प्रदेश अन्तर्गतका पालिकाका प्रमुख र उपप्रमुखले मात्र भोट हाल्न पाउँछन् ।

एमालेको आन्तरिक विवादले गर्दा बादलको तुलनामा देवकोटाको पल्ला भारी भए पनि ओली र नेपाल पक्षबिचको भइरहेको पछिल्लो वार्ताले गर्दा बादलले जित्ने सम्भावना बढेको भए पनि वार्ता निष्कर्षमा नपुगेको, अझै पनि आफूहरूलाई उपयोग मात्र गरिने पो हो कि भन्ने आशङ्काले गर्दा नेपाल पक्षका केही र ओली पक्षका पनि केही भोट देवकोटाले पाउने सम्भावना पनि उत्तिकै रहेको जानकारहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्