बेलबारी, ५ ज्येष्ठ । कोरोना भाइरसको प्रकोप बढेसँगै बेलबारी नगरपालिकाले आफ्ना गतिविधिहरूलाई थप सक्रीय बनाएको छ ।
मङ्गलवारदेखि बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको नेतृत्वमा बेलबारी आयुर्वेद शाखा निरीक्षक कुलानन्द यादवसहितको टोलीले नगरभित्रका सङ्क्रमितहरूलाई घरघरमा पुगेर भेट्न थालेको छ । विभिन्न प्रकृतिका आयुर्वेदिक औषधीसहित पुगेको नगरपालिकाको टोलीले सङ्क्रमितहरूको स्वास्थोवस्था बुझ्नुका साथै विभिन्न आयुर्वेदिक औषधिसमेत वितरण गरिरहेको छ ।
बेलबारी नगरपालिका आयुर्वेद शाखा,आयुर्वेद औषधालयद्वारा कोरोना सङ्क्रमितहरूलाई रोग प्रतिरोधक क्षमता अभिवृद्धि तथा सामान्य लक्षणहरू न्यूनीकरणका लागि अश्वगन्धा चूर्ण, गर्जोचूर्ण, सितोपलादी, यष्ठीमधू, त्रिकटु चूर्ण आदि वितरण गरिएको आयुर्वेद शाखा प्रमुख कुलानन्द यादवले बताए । यस अघि शाखाले बेलबारी नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा सङ्क्रमितलाई सेवा उपलब्ध गराइएको थियो भने क्रमशः होम आइसोलेसनमा रहने थप सङ्क्रमितहरूलाई पनि निरन्तर सेवा प्रदान गर्ने कार्यक्रम रहेको बारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली बत्ताउँछिन् ।
औषधी वितरण गर्दै उपप्रमुख पराजुलीले कोरोना भाइरसको भयावह बन्दै गएका कारण नागरिकहरूमा त्रास सिर्जना भएकोले जनप्रतिनिधि थप सक्रिय हुनुपर्ने अवस्था आएको महसुस गर्दै आफूहरूले बिरामीको घरघरमा पुगेर औषधि वितरण गरिरहेको बताइन ।
उपप्रमुखको नेतृत्वमा नगरपालिकाले गरेको यो सेवालाई स्थानीयहरूले महत्वका साथ हेरेका छन् ।