काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै बादललाई भोट मागेको पाइएको छ । । बागमती प्रदेशतर्फको उपनिर्वाचनको पूर्व सन्ध्यामा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै प्रधानमन्त्रीले भोटको लागि अपिल जारी गरेका हुन् ।
निर्वाचन आचारसंहिता २०७२ (पाँचौँ संशोधन २०७४) अनुसार मौन अवधिमा पालन गर्नुपर्ने आचरणमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने उल्लेख छ । उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने उल्लेख छ । तर ओलीले भने पार्टीको लेटर प्याडकै प्रयोग गरेर भोटका लागि अपिल गरेका छन् ।
ओलीले भोटको लागि अपिल मात्र गरेका छैनन् आफ्नो दलबाट उम्मेदवार बनेका रामबहादुर थापा ‘बादल’ लाई मतदान गर्न पार्टी पङ्क्तिलाई निर्देशनसमेत दिएका छन् ।
तर निर्वाचन आयोगले भने निर्वाचन आचारसंहितामा गर्न नहुने भनेका कुनै काम गर्न नपाइने बताए पनि प्रधानमन्त्रीबाट भएको आचारसंहिता उल्लङ्घनको जानकारी नआएको बताएको छ ।