संकटका सेवक : संक्रमितको शव घाटमा पुर्याउँदै गाउँपालिका अध्यक्ष


भैरहवा, ४ जेठ ।  रुपन्देहीका जनप्रतिनिधि संक्रमित शव बोकेर घाटमा पुर्याउन लागिपरेका छन्। ओमसतिया गाउँपालिका अध्यक्ष हिरा (राहुल) केवटले संक्रमितको शव ट्याक्टरमा राखेर घाटसम्म पुर्याउन थालेका हुन् ।


ओमसतिया गाउँपालिका– २ का ५१ वर्षीय पुरुष संक्रमित भएपछि उनलाई अक्सिजन आवश्यक पर्यो । परिवारले गाउँपालिका अध्यक्षलाई सम्पर्क गरेपछि उनले अक्सिजन सिलिण्डरको व्यवस्था मिलाइदिए । तर, होम आइसोलेसनमा बसेको संक्रमितको सोमबार मृत्यु भयो । 
उनले ५ लिटर डिजेल र चार थान पिपिईमा सुरक्षाका मापदण्ड अपनाएर शवको व्यवस्थापन गरिएको बताए । गाउँपालिकाले केही वर्ष अघि फोहोरमैला व्यवस्थापनका लागि ट्याक्टर खरिद गरेको थियो । सोही ट्याक्टर अहिले गाउँपालिका अध्यक्ष आफैँले चलाएर संक्रमितको शव व्यवस्थापनमा लागेका छन् ।


यस अघि गाउँपालिका–३ मा पनि संक्रमितको मृत्यु हुदाँ अध्यक्ष आफैले संक्रमितको शव ट्याक्टरमा राखेर घाटसम्म पु¥याएका थिए । ‘महामारीको यो संकटमा हाम्रो परीक्षा पनि हो’ उनले भने, ‘यस्तो संकटमा पनि हामी आगनकै सरकार जनताको सेवक बन्न सक्दैनौँ भने पदमा बस्न बेकार छ ।’

गाउँपालिका अध्यक्षले खेती किसानी काम पनि गर्छन् । १५ कठ्ठा क्षेत्रफलमा लगाएको तरकारी निषेधाज्ञा अवधिमै तयार भएपछि उनले संक्रमितका परिवारलाई निःशुल्क तरकारीसमेत वितरण गरिरहेका छन् । यसको साथै संक्रमितलाई घरघरमा उनले आवश्यक भिटामिनका औषधी र अण्डा पनि वितरण गर्दैछन् । (अन्नपूर्णपोष्टबाट)

प्रतिक्रिया दिनुहोस्