खाडी मुलुकमा कार्यरत नेपालीले गाँस कटाएर पठाए ५६० थान अक्सिजन सिलिन्डर


बेलबारी, २ जेठ । खाडी मुलुकमा कार्यरत नेपाली मजदुरहरूले ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन् ।

नेपालमा अक्सिजन सिलिन्डरको अभावमा दैनिक सयौँले ज्यान गुमाउनु परिरहेको बेलामा खाडी मुलुकमा कार्यरत नेपालीले जम्मा गरेर ५६० थान सिलिण्डर पठाएका हुन् । 

यूएई, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा कार्यरत नेपाली मजदुरहरूले स्वतस्फूर्त रकम सङ्कलन गरेर खरिद गरिएका सिलिण्डर नेपाल जम्मा गरेर ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत अक्सिजन सिलिन्डर नेपाल पठाएको एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज गोर्खालीले बताए । 

राजदूत पराजुलीले आफ्नो मुलुकलाई आपत् परेको बेला अक्सिजन सिलिन्डर नेपाल पठाउन पाएकोमा खुसी व्यक्त गरिन् । उनले खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपाली कामदारहरूलाई धन्यवाद दिँदै एनआरएनए मध्यपूर्वलाई विशेष आभार प्रकट गरेकी थिइन् ।

कोरोना महामारीको मुख्य चपेटामा परेर अक्सिजन अभावले छटपटाई रहेका परेका नेपाली नागरिकहरूलाई उक्त सहयोगले केही भने पनि राहत मिल्ने खाडीमा कार्यरत नेपालीहरूले अपेक्षा गरेका छन् । सरकारलाई उपलब्ध गराएको अक्सिजन सिलिन्डर आवश्यकता अनुसार वितरण हुनेमा उनीहरू आसावादी छन् ।

प्रतिक्रिया दिनुहोस्