काठमाडौँ, १ जेठ । राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।
कोरोनाको महामारी झन् भयावह बन्दै गएकोले राप्रपाका अध्यक्ष त्रयसहितको आज बसेको बैठकले जेठ २२–२५ सम्म काठमाडौँमा हुने भनिएको महाधिवेशन अनिस्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
बैठक पछि जारी गरेको विज्ञप्तिमा कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको व्यवस्थापन कमजोर बनिरहेको ठहर गरेको छ ।
साथै राप्रपाले सरकारलाई सङ्क्रमित बिरामीका लागि अस्पतालहरूमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युदर बढिरहेको अवस्थामा निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कूटनैतिक पहल गरी अन्तर्राष्ट्रिय सहयोग जुटाउनसमेत सरकारसँग माग गरेको छ ।
महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने पनि विज्ञप्तिमा भनिएको छ ।