सुर्खेत, १ जेठ । अक्सिजन अभाव भएको भन्दै कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप कोभिडका बिरामी भर्नामा रोक लगाएको छ । अस्पतालले सूचना जारी गर्दै नेपालगञ्जबाट आउनु पर्ने अक्सिजन नआएकाले थप बिरामी भर्ना लिन नसक्ने जनाएको छन् ।
प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि मागअनुसार अक्सिजन उत्पादन हुन सकिरहेको छैन ।
अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार कोरोना सङ्क्रमित बिरामीलाई हाइफ्लो अक्सिजन दिनुपर्ने अवस्था भए पनि आवश्यक्ता अनुसार अक्सिजन दिन सक्ने अवस्था नभएकोले थप कोरोनाका बिमारीलाई लिन सक्ने अवस्था नभएको हो ।
प्रदेश अस्पतालमा हाल करिब १०० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ । तर, अस्पतालमा दैनिक ३०० बढी अक्सिजन आवश्यक पर्छ । नेपालमा कोरोना संक्रमणको दोसो लहर देखिएसँगै अधिकांश संक्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको उपचारमा संलग्न चिकित्सकले बताउँदै आएका छन् ।