इटहरी, ३१ वैशाख । इटहरी ७ का केशव बस्नेतलाई कोरोना संक्रमण भएर श्वास फेर्न गारो भइरहेको थियो । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज राम कुमार धमला सहित बस्नेतको घरमा पुग्नुभयो ।
बस्नेतलाई औषधी दिनुभयो । त्यो औषधी खाए पछि उहाँलाई श्वास फेर्न सजिलो भयो । इमरजेन्सी इन्चार्ज धमलाले तनाव नलिन, मनोबल बढाउन सल्लाह दिनुभयो । कोरोना महामारीका वेला स्थानीय सरकार घरमै आइपुग्दा बस्नेत निक्कै खुसी हुनुभयो ।
पत्रकार कृष्ण भट्टराई दोस्रो पटक कोरोना संक्रमण भएर होम आइसोलेसनमा आराम गरिरहनुभएको छ । उपप्रमुख गौतमले फोन गरेर स्वास्थ्य अवस्था बारे बुझ्नु भयो । गारो अप्ठ्यारो भए सम्पर्क गर्न आग्रह गर्नुभयो । उपमेयरबाट फोन सम्पर्क भएपछि आत्मबल बढेको साथै स्थानीय सरकार उत्तरदायी देखिएको पत्रकार भट्टराईले प्रतिक्रिया दिनुभयो ।
उहाँका अनुसार सवैका घरमा त पुगेर पनि सकिँदैन होला तर फोन मात्र गरेर सोधपुछ गर्दा पनि धेरै राहत हुन्छ । इटहरी उपमहानगर स्वास्थ्य शाखाले अहिले होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था बुझ्न फोन सम्पर्क गर्ने गरेको छ । कोरोना संक्रमण भएर होम आइसोलेसनमा बस्नुभएका इटहरी ३ का ७२ वर्षीय सीताराम गुरागाईँलाई उपमहानगर स्वास्थ्य शाखा वाट फोन गरी स्वास्थ्य अवस्था सोधपुछ गरियो ।
उपमहानगर स्वास्थ्य शाखाकी नर्सिङ स्टाफ इन्दिरा गौतमले गारो अप्ठ्यारो के कसो छ सोध्नुभयो,होम आइसोलेसनमा बस्दा ध्यान दिनु पर्ने कुराहरू बत्ताइदिनुभयो । घरका धेरै सदस्यलाई कोरोना संक्रमण भएपछि तनाव भइरहेका वेला उपमहानगरबाट फोन आएपछि ७२ वर्षीय गुरागाईँको मन हल्का भयो ।इटहरी ४ का संक्रमित सन्तोष राज भट्टराईलाई पनि उपमहानगरबाट फोन आएपछि निक्कै सन्तोष लाग्यो ।
होम आइसोलेसनमा बसेका संक्रमतिको अवस्था बुझ्दै सहयोग गर्नुपर्ने अवस्थाको जानकारी लिन उपमहानगरले फोन सम्पर्क गर्न थालेको हो । होम आइसोलेसनमा बसेकाहरूले अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका उपाय,खानु पर्ने औषधी र थप स्वास्थ्य सल्लाह आवश्यक परे इटहरी अस्पतालका डक्टरहरू सँग सम्पर्क गर्न सल्लाह दिने गरिएको नर्सिङ स्टाफ इन्दिरा गौतमले बत्ताउनुभयो ।
इटहरी उपमहानगरले इटहरी रंगशालामा ५० शय्याको अक्सिजन सहितको आइसोलेसन र ६शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । दुई वटा एम्बुलेन्स तैनाथ छन् । इटहरीमा संक्रमितको संख्या ८ सय ४१ पुगेको छ । १सय ६८ जना निको भएका छन् । १२ जनाको ज्यान गएको छ ।