मौरी पालनबाट मनग्गे कमाइ गर्दै दर्वेशाका थापा दम्पती : वार्षिक १५ लाखसम्म आम्दानी


रङ्गेली, ३० वैशाख । मोरङको रङेली नगरपालिका–३ दर्वेशाकी जानुका थापा विगत १३-१४ वर्ष अघि २ घारबाट सुरु गरेको मौरी पालन व्यवसायले अहिले राम्रो आम्दानी लिन थालेको छ । 

रङेली नगरपालिका– ३ दर्वेशाकी जानुका थापा र मौरी पालन व्यवसाय एक अर्काका पुरका भएका छन् । उनको जीवन मौरी पालन मै बितेको छ भन्दा पनि अत्युक्ति हुँदैन । उनी जिल्लाकै एक उत्कृष्ट मौरी पालक किसानको रूपमा चिनिन्छिन् । उनी एक उद्यमशील महिला हुन् । उनले यसै व्यवसायबाट आफ्नो पुरै परिवार पालेकी छन् । त्यति मात्र नभएर उनले आफ्नो छोरालाई अमेरिका समेत पढाउन सफल भएकी छिन । यो व्यवसायबाट आफू सन्तुष्ट रहेको उनी बताउँछिन् ।   

जानुकाका श्रीमान् भोगबहादुरले लामो समयसम्म खाडी मुलुकमा बिताए । लामो समयको ठक्कर पछि उनी अहिले फर्किएर घरमै श्रीमतीलाई साथ दिइरहेका छन् । व्यवसायसँगै सामाजिक क्षेत्रमासमेत उतिकै योगदान दिइरहेकी आफ्नी श्रीमतीलाई साथ दिइरहेका छन् ।

श्रीमतीले महुरीपालनका लागि सबै बाहिरी काम गर्ने र आफूले मैरीलाई चाहिने चारो पानी र चरनको व्यबस्था गर्ने गरेको उनी बताउँछन् । यो व्यवसायबाट आफू खुसी रहेको, गर्दा हुनेरहेछ भन्ने उनको अनुभव रहेको छ ।  

जानुकाले मौरी पालन उत्पादन संघका केन्द्रीय उपाध्यक्षको भूमिकासमेत निभाइरहेकीछन् । थापाको मह काठमाडौँसम्म पुग्ने गर्छ  । वार्षिक ३५ देखि ४० क्विन्टल मह उत्पादन गर्दै आएकी थापा बजारको कुनै समस्या नरहेको बताउँछिन् ।

यही व्यवसायबाट आफूले वार्षिक आम्दानी १० देखि १५ लाख आम्दानी गर्ने गरेको बताउँछिन् । मौरी पालन व्यवसायमा मौसम परिवर्तनका कारणले ठूलो समस्या आउने गर्छ  । किसानहरूलाई चरनको समस्याले झनै पिरोल्ने गरेको छ । मौषम परिवर्तन र चरनको समस्याबाट जुध्दै आएका किसानलाई राज्यबाट भने खासै सहयोग नपाएको थापा बत्ताउँछिन् । 

पछिल्लो समय घरमै बसेर सहजरुपमा कम मिहिनेत गरी आयआर्जन गर्न सकिने मौरी पालन व्यवसायतर्फ किसानको आकर्षण बढ्न थालेको छ । झन् थापा दम्पती कृषिमै केही गर्छु भन्नेहरूका लागि राम्रो उदाहरण हुन् । नेताहरूले कृषिको विकासविना समृद्धि सम्भव छैन भन्ने भाषणमा उतारे पनि रङ्गेलीका यी दम्पतीले भने यसलाई राम्ररी व्यवहारमै उतार्दै आएका छन् । तपाईहरू पनि मौरी पालन गरेर राम्रो आम्दानी गर्नतर्फ लाग्ने पो हो कि ? 

प्रतिक्रिया दिनुहोस्