बेलबारी, २८ वैशाख । बेलबारी २ लालभित्तीकी कल्पना ढकालको यसपालिको मातातीर्थ औँसी त्यसै खल्लो भएर बित्यो । नजिकै माइती भए पनि उनी जान पाइनन् । बर्सेनी माइती गएर आमाको आशीर्वाद लिने गर्थिन् । तर यो अवसरबाट यसपालि उनी वञ्चित भइन । कोरोनाले उनलाई यो अवसरबाट वञ्चित गरिदियो ।
यसरी माइती जान नपाउँदा आफूलाई साह्रै खल्लो लागिरहेको, माइती जान नपाउँदा बिहानभरि रहेर बिताएको उनी बत्ताउँछिन् । बेलबारी २ कै ७५ वर्षीय होमादेवी खड्काले मातातीर्थ औँसीमा छोरीलाई नभेटेको यो दोस्रो पटक हो । गतसाल पनि आफन्तको मरिमराउ परेर कान्छी छोरी आउन सकिनन् । यसपालि पनि उस्तै भयो ।
लामो समयसम्म बिरामी भएर भर्खर मात्र उठेकी होमादेविलाई छोरी नआउँदा आजको दिन त्यसै खल्लो लागेको छ । कल्पना र होमादेवि त यहाँ प्रतिनिधि पात्र मात्र हुन् । होमादेवीजस्ता कयौँ आमाहरू आजको दिन आफ्ना छोरा छोरी आउलान् भनेर बाटो कुरिरहेका होलान् र कल्पनाजस्ता छोरीहरू पनि माइत जान नपाएर रोहीरहेका होलान् ।
अघिल्ला वर्षहरूमा आजका दिन सडकमा भिडाम्भिड हुन्थ्यो । सवारी साधनहरूलाई पनि भ्याई न भ्याई हुन्थ्यो तर अहिले ती सडकहरू सुनसान छन् । र सवारीसाधनहरू घरमै त्यसै थन्किएका छन् । छ त केवल कोरोनाको त्रास मात्र । नारीजागरण समूह बेलबारीकी अध्यक्षसमेत रहेकी स्थानीय रामकुमारी राई मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन छोराछोरीको लागि विशेष दिन भएको बताउँदै कोरोनाले छोराछोरीलाई आमासँग भेटभाट गरेर आशीर्वाद लिने अवसरबाट वञ्चित गरिदिएको बताउँछिन् ।
बर्सेनि आजैका दिन विशेष मेला लाग्ने मन्दिर तथा अनुष्ठानमा कोरोनाका कारणले अहिले ताला लागिरहेका छन् । खुलेका ठाउँमा पनि मानिस जान डराइरहेका छन् । हिन्दुधार्मिक परम्परा अनुसार नारीलाई उच्चस्थानमा राखेर हेर्ने गरिन्छ । त्यसमा पनि आमाको दर्जा झनै उच्च रहेको छ । आमालाई देवीको रूपमा राखिन्छ । अरू धर्मले पनि आमालाई विशेष महत्त्व दिने गरेका छन् ।
यस्तो पर्वको अवसरमा आमालाई भेटेर आशीर्वाद लिने प्रचलन आफैमा राम्रो हो तर महामारीका बेलामा ज्यान जोगाउन सकिएमा मात्र यस्ता चाडबाडको अर्थ रहन्छ । जीवन रहेमा मात्र अरू चिजको महत्त्व रहने छ । तसर्थ यस्तो बेलामा जहाँ छ त्यहीबाट वैकल्पिक विधिको माध्यमबाट पनि चाडबाड मनाउने र आमासँग आशीर्वाद लिने गर्नु मुनासिब हुन्छ । सबैलाई मातातीर्थ औँसीको शुभकामना ।