आफैँ ड्राइभर बनेर बिरामी ओसार्दै छन् चितवन राप्ती नगरपालिका उपमेयर



चितनव, २८ वैशाख । गत वर्ष नेपालमा कोरोना महामारी सुरु हुँदा धेरैलाई यसका बारे खासै जानकारी थिएन। देश नै लकडाउनमा गएपछि सबै अन्यौलमा परे।


बजार, यातायातदेखि सरकारी, गैरसरकारी कार्यालय सबै ठप्प हुँदा जनजीवन अस्तव्यस्त बन्न पुग्यो। एकातिर कोरोना महामारी बढ्दै थियो, अर्कोतिर विपन्न वर्ग खानबाटै वञ्चित हुँदै थिए। उपचारका लागि अस्पताल पुग्नै पर्ने बिरामीको हालत दिन(प्रतिदिन बिग्रँदै थियो।
फोन गरेर बोलाउँदा एम्बुलेन्स ठाउँमा पुग्दैनथे। पुगिहाले पनि मनलाग्दी भाडा असुलेर बिरामी झनै उपचार गराउन नसक्ने अवस्थामा पुग्थे।
त्यो समयमा आफ्नो कार्यक्षेत्रमा बिरामीका लागि सहारा बनेर उभिए राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा। यो कामलाई उनले अझै निरन्तरता दिइरहेका छन्।


उपमेयर लामा आइतबार बिहान ११ बजेतिर नगरपालिका कार्यालय नजिकै पूर्व(पश्चिम राजमार्गमा पिपिई लगाएर गाडी चलाउँदै गरेका भेटिए। उनी आफूले पाएको सरकारी गाडीमा राप्ती(३ की बिरामीलाई चढाएर भरतपुर अस्पतालतर्फ हुइँकिँदै थिए।
मिर्गौलामा समस्या भएकी ज्ञानीमाया राईले डायलिसिसको लागि भरतपुर पुग्न एम्बुलेन्स नपाएपछि उपमेयर लामासँग सहयोग मागेकी थिइन्।भण्डाराबाट भरतपुर तीस किलोमिटर पर पर्छ। एम्बुलेन्सले अस्पताल लगेको र ल्याएको कम्तीमा २ हजार ५ सय लिने गरेका छन्।
चितवनको पूर्वी सीमा क्षेत्रमा रहेको यो नगरपालिकामा अहिले ६० भन्दा बढी सक्रिय कोरोना सङ्क्रमित छन्। यही हप्ता उपचार गराइरहेका २ जनाले ज्यान गुमाए।उपमेयर लामाले आफ्नो नगरका कोरोना सङ्क्रमितसँगै अस्पताल जान समस्या झेल्दै आएका दीर्घरोगीको पनि व्यवस्थापन गर्दै आएका छन्।
‘कोरोना सङ्क्रमितको उपचार सुरु गर्न भण्डारा अस्पतालमा २० शैयाको अक्सिजनसहितको आइसोलेसन कक्ष तयार पारेका छौँ, आवश्यकताअनुसार भरतपुरका ठूला अस्पतालहरू लैजान समन्वय र सहयोग गर्ने गरेका छौँ,’ लामाले भने।लामाले कोरोना सङ्क्रमितबाहेकका अन्य बिरामीको समस्या पनि ठूलो रहेकाले त्यसतर्फ पनि आफूले समय दिँदै आएको बताए।
‘यो विपन्न समुदाय धेरै रहेको नगरपालिका हो, पहाडी क्षेत्रको ठूलो हिस्सा यहाँ छ। यातायात ठप्प हुँदा उनीहरू अस्पतालसम्म पुग्न पनि सकेका छैनन्,’ उपमेयर लामाले भने, ‘जनप्रतिनिधि भएको नाताले जनताको सेवा गर्ने अवसर यही हो भनेर खटेको छु।’
उनले गत वर्षको लकडाउनमा मात्रै १ सय १७ जना दीर्घ रोगीलाई अस्पताल पुर्‍याएको बताए।‘उहाँहरूमध्ये १० जनालाई त बचाउन सकिएन। अरू धेरैको अवस्थामा सुधार आउँदै छ,’ उनले भने, ‘उहाँहरू अहिले पनि अस्पताल जानुपर्‍यो, केही समस्या भयो भने मैलाई फोन गर्नुहुन्छ।’
लामाले आफ्नो फुर्सद हुँदा आफू चढ्ने गाडीमै अस्पताल पुर्‍याउने गरेका छन्। व्यस्त हुँदा भने एम्बुलेन्स खोजेर सहजीकरण गरिदिन्छन्।‘एम्बुलेन्स चालकले सर्वसाधारणले भनेको नमान्ने, भाडा बढी माग्ने समस्या छ। मैले भनिदिँदा अलि सजिलोसँग आउँछन्, भाडा पनि कम लिन्छन्,’ उनी भन्छन्, ‘आफ्नो ठाउँबाट जे गर्न सकिन्छ त्यही गर्ने त हो हामीले।’
उपमेयर लामाकाअनुसार अहिले नगरभित्रका १६० बढी दीर्घरोगी उनको सम्पर्कमा छन्। क्यान्सर भएर केमो चढाउनु पर्ने, मिर्गौलाको डायलासिस गर्नका लागि समयमै अस्पताल पुग्नुपर्ने बिरामीहरूलाई उनले अस्पताल पुर्‍याइदिने गरेका छन्। लामा बिरामी बोकेर भरतपुर मात्रै होइन, काठमाडौँका अस्पताल पनि पुगेका छन्।


सोमबार बिहान राप्ती(७ कि नानीमाया तामाङलाई मिर्गौलाको डायलिसिसको लागि पुरानो मेडिकल कलेज ल्याइपुर्‍याएका लामाले दिउँसो अस्पताल लगिदिन अन्य २ जनाले पनि फोन गरेको सुनाए।‘आजको धेरै समय बिरामी ओसार्नेमै बित्नेछ,’ उनले सुनाए, ‘नगरपालिकाको अन्य काम पनि समय मिलाएर गरिहाल्छु।’राप्ती(५ का फणिन्द्रप्रसाद सेढाईंले क्यान्सर पीडित श्रीमतीको उपचारमा उपमेयर लामाले सहयोग गरेको बताए।


‘गत वर्ष चैतमा लकडाउन हुँदा मेरी श्रीमतीलाई पनि क्यान्सरले चाप्यो। तत्काल केमो थेरापी गर्नुपर्ने भयो तर अस्पताल लैजाने, ल्याउने उपाय थिएन। त्यो समयमा उहाँको ठूलो सहयोग पायौँ,’ सेढाईंले भने, ‘अहिले उनलाई सञ्चो हुँदैछ। तैपनि परीक्षणका लागि अस्पताल लगिराख्नुपर्छ, आवश्यक पर्दा सहयोग मागिराखेका छौँ।’
उनले महिनामै १५ दिन अस्पताल धाउनु परेको बेलामा एम्बुलेन्स नपाएर बिजोग हुने गरेको सम्झिए। भने, ‘उहाँको सहयोग नभएको भए के गरिन्थ्यो होला जस्तो लाग्छ।’


केही वर्षदेखि पुरानो मेडिकल कलेजमा मिर्गौलाको उपचार गराउँदै आएकी राप्ती(३ झुरझुरे विन्दु परियार उपमेयर लामाले अझै पनि आवश्यक पर्दा अस्पताल लगेर सहयोग गर्दै आएको बताइन्।‘एम्बुलेन्स चढेर जान हाम्रो खर्चले धान्दैन, गाडी नपाएको बेलामा उहाँकै सहयोगमा अस्पताल जाने गरेको छु,’ उनले सुनाइन्।

उपमेयर लामा चितवनका स्नातकोत्तर गरेका थोरै जनप्रतिनिधि मध्येमा पर्छन्। समाजशास्त्र र जनसङ्ख्या विषयमा स्नातकोत्तर गरेका उनी ‘स्प्रिच्युअल इन मार्क्स फिलोसपी’ विषयमा पिएचडी गर्दैछन्। विगतमा उनी लुम्बिनी विकास कोषको निर्देशकसमेत भएका थिए।


महिनौंदेखि बिरामीको सेवामा खटिएका उपमेयर लामा आफूले गरेका कामको प्रचार गर्न रूचाउँदैनन्।‘म त राज्यमन्त्री सरहको पद छाडेर जनताको सेवाका लागि उपमेयरमा उम्मेद्वारी दिएको मान्छे हो। मलाई प्रचार–प्रसारभन्दा पनि जनताको काम गर्नमै रुचि छ,’ उनी भन्छन्।


केही दिनयता जनप्रतिनिधिले आफूले चढ्दै आएको गाडी बिरामीका लागि प्रयोग गर्न सार्वजनिक घोषणा गर्नेक्रम बढेको छ। तर लामाले घोषणा नै नगरी बिरामी ओसार्न थालेको महिनौँ भयो।

‘मैले यो काम गर्न थालेको महिनौँ भयो तर मैले यस विषयमा कहिल्यै प्रचार गर्न चाहिनँ, मैले पढ्दै गरेको बुद्ध दर्शनले पनि प्रचार होइन सेवा गर भन्छ,’ उनले भने, ‘अरू प्रचार गरेर अघि पुगे म पछि परें भन्ने लाग्दैन। जनताले त मलाई बुझ्नुभएकै छ।’राप्तीको भण्डाराका स्थायी बासिन्दा लामाले दीर्घरोगीको सेवामा आफूले सुरु गरेको अभियानलाई निरन्तर दिइराख्ने बताएका छन्।


‘ठूला रोग लागेका बिरामी र तिनका परिवारको अवस्थाले मलाई विचलित नै बनाउने गर्छ,’ उनी भन्छन्, ‘कतिपयको घरमा त खानाको लागि एक किलो चामल पनि छैन। बिरामी त बिरामी नै भइहाले उसका परिवारसमेत उपचार गराउँदा–गराउँदा आजित भएर जिन्दगीदेखि निरास भएको देखेको छु। यस्तो देख्दा सहयोग नगरी मनले मान्दैन।’चुनावको बेलामा भोट माग्दा दिएका सान्तवना र वचनलाई सम्झँदै सहयोग गर्ने गरेको उनले बताए। (सेतोपाटीबाटबाट साभार)

प्रतिक्रिया दिनुहोस्