ओली–नेपाल पक्षबिचको वार्ताबाट सहमतिको बिन्दु खोजिँदै



काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री समेत रहेका नेकपा–एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल र झालनाथ खनाल पक्षबिच लगातार रूपमा वार्ता भैरहे पनि सहमतिको विन्दु भने पहिल्याउन सकेका छैनन् । पार्टी अध्यक्ष ओली नेपाल–खनाल पक्षलाई पेलेरै जाने मनस्थितीमा भए पनि दोस्रो तहका केही नेता भने यसरी पेलेर जाँदा अहिलेलाई फाइदा भए पनि यसले कालान्तरमा पार्टीलाई कमजोर बनाउने हुँदा मिलाएर जानुपर्ने पक्षमा देखिएका छन् । यता राष्ट्रपति विद्यादेवी भण्डारी पनि पार्टीलाई मिलाएर लैजानु पर्ने मनस्थितीमा हुनु, पार्टीका दोस्रो तहको नेताहरू पनि माधव –नेपाल पक्षलाई पेलेर जानु नहुने पक्षमा देखिए पछि ओली दबाबमा परेका छन् । 


यसैक्रममा प्रधानमन्त्री ओलीले नेपाल पक्षका घनश्याम भुसाल, योगेश भट्टराईलगायतका केही प्रभावशाली नेतालाई बालुवाटार बोलाएर मनाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन । 


नेपाल–खनाल पक्षले माओवादी केन्द्रसँग एकता गर्नुअघि अर्थात् २ जेठ २०७५ मा फर्किनुपर्ने पुरानै अडान राखेका छन् । तर ओली पक्ष भने त्यो सर्त मान्ने अवस्थामा देखिएका छैनन् । ‘यदि यो सर्त मान्ने हो भने मात्र वार्ता सफल हुन्छ, हामी बैठकमा जान्छौँ’ भनेर नेपाल–खनाल पक्षले भनिरहेकोले वार्ता निष्कर्षमा पुग्ने सम्भावना कम रहेको ओली पक्षीय एक नेताले बताए ।  

प्रतिक्रिया दिनुहोस्