बेलबारीमा “हेलो उपमेयर क्विक रेस्पोन्स” अभियान सुरु गरिँदै


बेलबारी, २३ वैशाख । बेलबारी नगरपालिकाले `हेलो उपमेयर क्विक रेस्पोन्स´अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार बसेको नगरस्तरीय उपभोक्ता हित संरक्षण समितिको बैठकले सो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

अभियान मार्फत बजारलाई संकटको समयमा समेत उपभोक्ता मैत्री बनाउन बजार अनुगमनलाई निरन्तरता दिइने, कृत्रिम अभाव र कालोबजारीलाई कारबाही गरिने, तत्काल उपभोक्ताहरूको गुनासो सुनुवाइ र द्रुत समाधानका लागि `हेलो उपमेयर क्विक रेस्पोन्स´अभियान सञ्चालन गरिने उपभोक्ता हित संरक्षण समितिले जानकारी दिएको छ ।

उपभोक्ता हित संरक्षण समितिकी संयोजक समेत रहेकी नगर उपप्रमुख ढाकाकुमारी पराजुलीले व्यापारी व्यवसायीहरूलाई बजारमा उपभोक्ताको हित र अधिकार विपरीत कुनै काम नगर्न आग्रह गर्दै यस जटिल समयमा सबै उद्योगी,व्यापारी व्यवसायी बाट नगरपालिकाले महामारीसँग जुध्न आआफ्नो स्थानबाट सहयोगी भूमिकाको अपेक्षा गरेको बताइन्।

दैनिक उपभोग्य सामग्रीहरूको आपूर्तिमा व्यापारी व्यवसायीहरूलाई सहयोग गर्ने निर्णय गरिएको समितिका सदस्य सचिव महेन्द्र खडकाले बताए । महामारीका समयमा स्वास्थ्य संस्थाहरूलाई सेवा प्रवाहमा थप जिम्मेवार बनाउन र सिङ्गो बजारलाई मर्यादित बनाउन बजार अनुगमनलाई कडाइ गरिएको समिति सदस्य सन्तोष बि.कले बताए । सदस्य राजेशजङ्ग कार्कीले उद्योग वाणिज्य संघ बेलबारीले उपभोक्ता हित संरक्षण समितिसँग हातेमालो गरेर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्