सर्जिकल मास्क रु.५ भन्दा बढीमा नबेच्न इटहरी उपमहानगरको निर्देशन


सुनसरी, २३ वैशाख । इटहरी उपमहानगरले सर्जिकल मास्क पाँच रुपियाँ भन्दा बढीमा नबेच्न निर्देशन दिएको छ । बिहान बजार अनुगमनका क्रममा दुई देखि तीन रुपियाँ खरिद मूल्य रहेको मास्क पाँच रुपियाँ भन्दा बढी मूल्यमा नबेच्न निर्देशन हो ।

जिल्ला प्रशासन कार्यालय,उपभोक्ता अधिकारकर्मी,प्रहरी र सञ्चारकर्मी सहितको टोलीले अनुगमन गर्दा १० रुपियाँमा बेच्ने गरेको पाइएको छ । अनुगमनका क्रममा मास्क खरिद मूल्य भन्दा पाँच गुणा सम्म बढीमा बेच्ने गरेको पाइएको इटहरी उपमहानगर राजश्व प्रशासन शाखा प्रमुख नवीन भट्टराईले जानकारी दिनुभयो ।

पाँच वटा औषधी पसलको अनुगमन गर्दा चार वटाले त सर्जिकल मास्क खरिद गरेको विल समेत देखाएनन् । ९० रुपियाँ खरिद मूल्य रहेको स्यानिटाइजर १सय ६५ रुपियाँमा बेचेको पाइएको छ ।

राजश्व प्रशासन शाखा प्रमुख नवीन भट्टराईले तत्काललाई बढी मुनाफा राखेर नबेच्न सचेत गराइएको,सर्जिकल मास्क पाँच रुपियाँ भन्दा बढीमा नबेच्न निर्देशन दिइएको बत्ताउनुभयो । निर्देशन पालना गराउन थप कडाइका साथ अघि बढ्ने भट्टराईले बत्ताउनुभयो ।

खरिद मूल्य र अधिकतम विक्री मूल्यको अन्तर धेरै पाइएकाले अव उद्योगमै पुगेर समेत अनुगमन गरिने उहाँले बत्ताउनुभयो । भट्टराईले भन्नुभयो “सर्वसाधारण मास्क किन्न नसकेर एउटै मास्क धोएर लगाइरहेका छन्,बजारमा यस्तो छ,पाँच रुपियाँमा बेच्दा दोब्बर बढी फाइदा हुन्छ ।”

किन पाँच रुपियाँमा नबेच्ने उहाँले विक्रेताहरूलाई प्रश्न गर्नुभयो । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले २ रुपियाँ खरिद मूल्य परेको मास्क १० रुपियाँमा बेच्न नमिल्ने बत्ताउनुभयो ।

उहाँले मास्क र सेनिटाइजरमा बढी मुनाफा राखेको पाइएकाले यसलाई नियन्त्रण गर्न उपमहानगर,जिल्ला प्रशासन र राजश्व कार्यालयको बैठक बसेर तीन दिनभित्रमा रिजल्ट आउने गरी एक्सन गरिने बत्ताउनुभयो । आजै इटहरी उपमहानगरले हटिया लाइनका थोक सब्जी पसलहरूको समेत अनुगमन गरेको छ ।

अनुगमनका क्रममा हटिया लाइनका भाँडा पसलहरू पनि खुल्ला रहेका पाइए । अनुगमन टोली पुगेपछि हतार हतार बन्द गरेका देखिन्थे । इटहरी उपमहानगरपालिकाले निरन्तर बजार अनुगमन गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्