रतुवामाई मोरङ । भएभरको जग्गाजमिन बैँकमा धितो राखेर विदेशिनेहरूको लर्को छ । विदेशमा गएपछि पनि कमाइ हुन्छ भन्ने पनि छैन । कमाउने भन्दा दुःख पाएर फर्किनेको सङ्ख्या बढी रहेको छ । कमाइभन्दा बढी सास्ती बेहोर्न विवश हुन्छन् नेपाली युवाहरू । तर विडम्बना त्यसरी गएकाहरूमध्ये धेरैको लक्ष्य एउटै हुन्छ । विदेशमा गएर दुःख गरेर आर्जेको सम्पतीले घर घडेरी वा गाडी खरिद गर्ने र बिलासी जीवन जिउने । तर यस्ता युवाहरूको बिचमा राम्रो कमाइ भैरहेको ठाउँ नै छाडेर श्वदेशमै लगानी गर्नेहरू पनि पाइन्छन् ।
मोरङको रतुवामाई नगरपालिका कार्की दाजुभाइहरू मिलेर कृषि फर्म सञ्चालनमा ल्याएका छन् । उनीहरू राम्रो कमाइ हुने ठाउँको काम नै छाडेर आफ्नै ठाउँमा केही गर्छु भनेर, स्वदेश फर्किए र कराडौँ खर्च गरेर बहुउद्देश्यीय कृषिफर्म संचालनमा ल्याएका छन् ।
उनीहरूले रतुवामाई –८, झुनावारी झापामा सात करोड २५ लाख रुपैयाँ लगानी गरेर कृषि फर्म सञ्चालनमा ल्याएका छन् । टेकराज, शैलेन्द्र तथा सुमन कार्की दाजुभाइ मिलेर कृषि फर्म सञ्चालनमा ल्याएका हुन् । दुई दुई बाली धान फल्ने खेत नै मासेर उनीहरूले कृषि फर्म सञ्चालनमा ल्याएका छन् । ९ बिगाहा जमिन खरिद गरेर यसमा उनीहरू धमाधम कृषि कार्य गरिरहेका छन् । बङ्गुर, बोयर बाख्राका पाठापाठी, टर्की, स्थानीय जातका कुखुरा र कड्कनाथ पाल्न सकिने गरी अलग अलग गोठ निर्माण भइरहेका छन् । गतबर्ष नै व्यावसाय सुरुगर्ने गरी योजना बनाइएको भए पनि कोरोना भाइरसका कारण केही ढिलो भएको शैलेन्द्र कार्की बत्ताउँछन् । उलने १० वर्ष भारतमा होटेल व्यावसाय गरेर अहिले आफ्नै माटोमा केही गर्ने योजना बनाएर घर फर्कीएको बताए ।
अष्ट्रेलिया र साउथ अफ्रिकाबाट शतप्रतिशत बोयर बाख्रा र बोका माग गरेको भए पनि लकडाउनका कारण केही ढिलो भएको शैलेन्द्रको भनाई रहेको छ । बङ्गुर तथा बोयरका पाठापाठी ल्याउनका बैनाबापत केही रकमसमेत दिएको उनले बताए । नौ बिगाहामध्ये १ बिगाहामा क्षेत्रफलमा उनीहरूले माछा पालन गरेका छन् भने बाँकी जमिनमा भने घाँस र भौतिक संरचना निर्माण भइरहेका छन् ।
शैलेन्द्रका भाइ टेकराज कार्कीसँग लामो समयको बैदेशिक रोजगारको अनुभव रहेको छ । उनी १२ वर्ष न्युजिल्याण्ड बसेर फर्किएका हुन् । उनले आफूले कमाएको सबै पैसा कृषि उद्यममै लगानी गरेको बताउँछन् । ३ वर्ष भित्र १२ करोड लगानी गरेर वार्षिक एक करोडभन्दा बढी आम्दानी गर्ने आफूहरूको लक्ष्य रहेको टेकराजको भनाई रहेको छ ।
टेकराज र शैलेन्द्रसँगै साइला भाइ सुमन कार्कीले पनि कृषि र पशुपालनबाटै आर्थिक रूपमा समृद्ध बन्ने सपना देखेका छन् । उनको ११ वर्षे दुवई, कतार र मलेसियाको वैदेशिक रोजगारको यात्रामा पूर्ण विराम लागेको छ । उनी भन्छन् –दैनिक १४ घण्टासम्म अरूका देशमा पसिना बगाइयो अब त्यति नै समयमा अफ्नै देशको माटोमा बगाउँदा कसो नहोला ।’
कार्की दाजुभाइलाई उनीहरूका मामा राजेन्द्र बुढाथोकीलेसमेत सहयोग गरेका छन् । बुढाथोकी यो फर्म साजेदारसमेत रहेका छन् । उनी पनि आठ वर्ष साउदी अरबमा पसिना बगाएर फर्किएका हुन् ।
यति धेरै खर्चगरीसके पनि अहिलेसम्म उनीहरूले कुनै बैंक तथा वितीय संस्थाबाट ऋण भने लिएका छैनन् । र ऋण लिनु नपरे हुन्थ्यो जस्तो लागे पनि आवश्यक परेमा बैंक तथा बित्तीय संस्थाहरूबाट ऋण लिने कामलाई गलत भने ठानेका छैनन् । अहिले आफूहरूसँगै भएको पैसाले काम गरिरहेको छ तर आवश्यक परेमा ऋण लिएर भए पनि योजना पुरा गर्नु पर्छ । बन्दाबन्दीका कारण बङ्गुर तथा बाख्रा–पाठा लगाउन ढिला भएकाले केही घाटा हुने उनीहरू बताउँछन् । तर घाटा भए पनि बैङ्क तथा बित्तीय सस्ताहरूले चिठी पठाउलान् भन्ने चिन्ता भने अहिले सम्म नभएकोमा उनीहरू ढुक्क छन् ।
यसरी छोराहरूले आफ्नै ठाउँमा व्यावसाय संचालन् गरिरहेकोमा शैलेन्द्र, सुमन तथा टेकराजकी आमालाई पनि खुसी लागेको छ । उनले भनिन् ‘जे भए पनि छोराहरूले आफ्नै ठाउँमा केही गर्न चाहेका छन् । यसैमा हामीलाई खुसी लागेको छ ।’
स्थानीयहरूले पनि उनीहरूको यो कामलाई महत्वकासाथ हेरिरहेका छन् । यसले गाउँकै विकास भएको उनीहरूको ठहर रहेको छ । साथै उनीहरू अव गाउँमै रोजगार पाउने भइयो भनेर खुसी छन् । स्थानीय भक्तबहादुर रसाइली भन्छन् ‘यो परियोजनाले यो ठाउँलाई परिचित मात्र बनाउदैन यसले रोजगारको सिर्जनासमेत गर्ने छ ।’
यसरी पैसा कमाउन भएभरको सम्पती बन्दकी राखेर विदेशिने भिडमा राम्रो कमाइ भएको विदेशको जागिर छाडेर आफ्नै ठाउँमा केही गर्छौँ भनेर थाल्ने मोरङको रतुवामाईका यी युवाहरूको कार्य अनुकरणीय छ ।