ठाकुर र महतोबीचको विवादले ओलीलाई बहुमत जुटाउन कठिन पर्ने



काठमाडौँ, २३ वैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबिचको विवादले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा बहुमत जुटाउन कठिन पर्ने देखिएको छ । 


ठाकुर र महतोबिच पार्टीमा संसदीय दलको नेता को बन्ने भन्ने विषयमा विवाद सुरु भए पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई २७ गतेको संसदको विशेष अधिवेसनमा बहुमत पुर्‍याउने अभियानमा कठिन हुने देखिएको हो ।  


ठाकुरले आफै संसदीय दलको नेता बन्ने तयारीमा छन् भने यता महतोले आफू संसदीय दलको नेता बन्नुपर्ने अडानमा देखिन्छन् । यसरी दुई नेताबिच टकराव भए पछि ओलीलाई ठूलो धक्का लागेको जानकारहरू बताउँछन् । 


राष्ट्रिय जनता पार्टी (राजपा) र सङ्घीय समाजवादी पार्टीबिच पार्टी एकीकरण हुने क्रममा नयाँ पार्टी जसपाको संसदीय दलको नेता महतोलाई बनाउने नेताहरूका बिच सहमति अनुसार आफूले संसदीय दलको अडान हुनुपर्ने महतोको मत रहेको छ भने ठाकुर त्यो पूर्व सर्तलाई छाडेर आफूलाई संसदीय दलको नेता बनाउने कार्यमा जुटिरहेका बताइएको छ । 


ओलीलाई वैशाख २७ गते विश्वासको मत दिनका लागि ठाकुरले सांसद र केन्द्रीय सदस्यहरूलाई काठमाडौँ बोलाएर हस्ताक्षर गराउन थालेका थिए । तर ठाकुरको यो अभियानलाई पछिल्लो विवादले ठूलो समस्यामा ल्याइदिएसँगै प्रधानमन्त्री ओलीको बहुमत जुटाउने अभियानमा पनि ठूलो झड्का लागेको छ । 

प्रतिक्रिया दिनुहोस्