काँग्रेसले ओलीलाई भन्यो –हामी तपाईँलाई सहयोग गर्न सक्दैनौँ’


काठमाडौँ, २२ वैशाख । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सहयोग गर्न राखेको प्रस्तावलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ठाडै अस्वीकार गरिदिएका छन् ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेर आफूलाई विश्वासको मत लिने प्रक्रियामा सहयोगको आग्रह गर्दा देउवाले काङ्ग्रेसले सहयोग गर्न नसक्ने बताएका हुन् । देउवालाई भेट्न प्रधानमन्त्री ओलीसहित नेताहरू उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङ देउवा निवास पुगेका थिए ।


बैठकपछि नेपाली काँग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न आग्रह गरे पनि जवाफमा सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल भएकाले काँग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको बताए । 


काँग्रेसको तर्फबाट सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा. शशाङ्क कोइराला, पूर्णबहादुर खड्का र सह महामन्त्री प्रकाश शरण महत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्