माओवादीले फिर्ता लियो वर्तमान सरकारलाई दिएको समर्थन



काठमाडौँ, २२ वैशाख । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका छन् । 


संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय लगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो । ओलीको विकल्पमा नयाँ सरकार गठनको कसरत गर्दै आएको माओवादीले सरकारलाई दिएको समर्थन भने कायमै राखेर दोहोरो चरित्र देखाएको भन्दै सर्वत्र आलोचना भए पछि स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।  


माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा बुझाएको समर्थन फिर्ता पत्रमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने असंवैधानिक कदम चालेको, मुलुकका राष्ट्रिय मुद्दालाई सौदावाजीको विषय बनाएको तथा कोरोना महामारी नियन्त्रणमा असफल भएको’ आरोप लगाएको छ ।
त्यस्तै वर्तमान सरकारले संविधानको ठाडो उलङ्घन गरेको, लोकतान्त्रिक मूल्यमान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाएर राजनीतिलाई सत्ताको फोहोरी खेलका रूपमा निकृष्ट ढङ्गबाट सञ्चलन गरेको पनि माओवादीको आरोप छ ।


माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । यही वैशाख २७ गते बस्ने संसद्को विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्