जतासुकै डेंगु आतङ्क, स्थानीय सरकार बजार बजारमा


उत्तम पोख्रेल  –
बेलबारी / सुनसरीको धरानमा डेंगु नियन्त्रण बाहिर गइरहेका बेला प्रदेश नम्बर १का दुई जिल्लाका धेरै स्थानमा बिरामी भेटिन थालेका छन् डेंगु ज्वरो एडिस एजिप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग अहिले सुनसरीको धरान मोरङका सुन्दरहरैचा पथरी लगायतका नगरपालिका समेत बिरामी भेटिएका छन् ।


सफा पानीमा बसेर दिउसो मात्रै एजिप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेले टोक्दा लाग्ने डेंगुका बिरामी बढ्दै जान थालेका छन् । तराइका जिल्लामा गर्मी बढ्दै गइरहेका बेला बिरामीहरू पनि बढिरहेका हुन् । सफा पानी जमेको स्थानमा यो जातको लामखुट्टेले फुल पार्ने भएकाले फ्रिज, पूजाका सामग्री, पुराना टायर, गमला र पानीका ट्याकीमा उक्त जातको लामखुट्टेले फुल पार्ने गरेको स्वास्थयकर्मीहरुले बताएका छन् ।

डेंगु भगाउन सरसफाइमा जुट्दै स्थानीय तह

गर्मी बढेपछि जता सुकै डेंगुका बिरामी बढिरहेका बेला मोरङका केही स्थानियतहरुले जनचेतनामुलक कार्यक्रम सहित सरसफाइ गरिरहेका छन् ।

मोरङका सुन्दरहरैचा,बेलबारी, पथरी उर्लाबारी नगरपालिकाले सरसफाइमा जोड दिइरहेका छन् ।बेलबारी नगरपालिकाले गाउँ गाउँमा स्वास्थयकर्मीहरुको टोली पठाएको जनाएको छ । रोग लाग्नु भन्दा लाग्न नदिनु उत्तम उपाय भएकाले नगरवासीलाई जागरुप बनाउन स्वास्थयकर्मीको टोली पठाएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । द्रुत गति टोली (आर आर टिम) गठन गरेर भाउन्ने, लक्ष्मीमार्ग,बेलबारी, लालभित्ति र थापा चोकमा रहेका बाइक ग्यारेज, होटेल,पसलहरूमा टोलीले गएर आफै सरसफाइ गर्दै चेतना मूलक कार्यक्रम समेत गरेको छ । टायरहरू जमेको पानीमा धेरै हुने गरेको स्वास्थय संयोजक सन्तोष विश्वकर्माले बताए । उनले लामुट्टे विरुद्धको औषधि समेत छिटिल सकेको बताए ।

यस्तै उर्लाबारी नगरपालिकाले समेत औषघि छिटेको छ भने सुन्दरहरैचा नगरपालिकाले समेत बजार क्षेत्रमा समेत सरसफाइ गरेको छ ।

डेंगु प्रभावितलाई प्रदेश सरकारको ८० लाख

डेंगुु प्रभावित क्षेत्रका लागि प्रदेश एक सरकारले ८० लाख छुट्ट्याएको छ । आपतकालिन उद्धार कोष अन्तर्गत प्रदेशसरकारले यो बजेट तत्कालका लागि निकासा हुने गरी छुट्ट्याएको मुख्य मन्त्री शेरधन राईले संसद्मा जानकारी गराएका थिए ।

धरानमा वैशाख अन्तिम सातादेखि फैलिएको डेंगुुले महामारीको रूप लिएको छ । डेंगुु अनियन्त्रित रूपमा फैलिए पछि धरान उपमहानगरपालिकाले माथिल्ला सरकारसँग गुहार मागेको थियो । संसदीय समितिले समेत संसद्मा कुरा उठाए पछि प्रदेश सरकारको ध्यानाकर्षण भएको हो । धरानबाट फैलिएको डेंगुु आसपासका पालिकासमेत नफैलियोस भन्नका लागि सरकारले ३० लाख छुट्ट्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्