बेलबारी, वैशाख २२ । कोरोना महामारीको आडमा हुनसक्ने कालोबजारी हुन नदिन बेलबारी नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।
बेलबारी नगरपालिकाकी उपमेयर एवम् नगरस्तरीय उपभोक्ता हित संरक्षण समिति बेलबारीकी संयोजक ढाकाकुमारी पराजुलीको संयोजकत्वमा गएको बजार अनुमन टोलीले अनुगमनका क्रममा हिमाली एग्रोभेट कन्सर्न बेलबारी २ मा म्याद गुज्रिएका विभिन्न प्रकृतिका बीउ, किटनाशक औषधीहरू फेला पारेको बजार अनुगमन समितिका संयोजक महेन्द्र खड्काले बताए ।
अनुगमनका क्रममा वीडमार रुपर, सूर्याक्सील कोफ, समाधान, सिग्नेयर गोफ, सोनाश्री पाउडर, मैजिङ्क लगायत विभिन्न प्रकृतिका म्याद नाघेका सामग्रीहरू पाएको र मुचुल्का उठाएर जफत गरेको समितिले बताएको छ ।
अनुगमनका क्रममा अनुमतिबिनै सञ्चालित बेलबारी २ कै एक मेडिकल पसललाई विधिवत् हुन एक साताको अल्टिमेटम दिएको छ ।
सङ्क्रमणका समयमा बीउ बीजन, किटनाशक औषधीसँगै दैनिक उपभोग्य सामग्रीहरूको आपूर्ति सहज बनाउँन, बजारलाई अझ व्यवस्थित, मर्यादित र उपभोक्तामैत्री बनाउनु पर्ने भएकोले सङ्क्रमणका समयमासमेत नगरपालिकाले नियमित रूपमा बजारलाई निगरानी गरिरहेको बेलबारी नगरपालिकाकी उपमेयर एवम् उपभोक्ता हित संरक्षण समितिकी संयोजक ढाकाकुमारी पराजुलीले बताइन् ।