काठमाडौं, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएका हुन् । बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओली यही वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा रहेको स्रोतले जानकारी दिएको छ ।
पछिल्लो समय नेकपा माओवादी केन्द्र, प्रमुख प्रतिपक्षीदल नेपाली काङ्ग्रेस लगायतका दलहरूले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका छन् ।