कोरोना कहर : नागढुंगादेखि धादिङसम्मै सवारी साधनको लर्को


काठमाडौ, १६ बैशाख । काठमाडौं उपत्यकासहित बिहिबारदेखि १० जिल्लामा निषेधाज्ञा लागू भएसँगै राजधानी छाड्ने लर्को छ मानिसहरू लकडाउनको अवधिमा आफ्नै ठाउँमा आएर सुरक्षित रुपमा बस्न चाहेका कारणले नै यस्तो अवस्था आएको हो ।

सरकारद्वारा घोषणा भएको लकडाउनलाई सफल पार्न सुरक्षाकर्मी तैनाथ देखिन्छन् । बिहान ६ बजेदेखि लागू भएको निषेधाज्ञा पालना गराउन प्रहरीहरुलाई हम्मेहम्मे परिरहेको देखिन्छ ।
काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरुमा समेत चेकजाँचलाई कडाइ गरिएको छ । ठाउँठाउँमा ट्राफिक प्रहरीहरु तैनाथ देखिन्छन् । कति ठाउँमा त प्रहरी प्रमुखहरू आफै पनि खटिएका छन् ।

निषेधाज्ञासँगै भित्री सडकहरुमा तुलनात्मक रुपमा गाडीहरु त्यति नचले पनि काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा भने बिहानको समयमै गाडीहरूको चाप देखिएको छ ।

निषेधाज्ञाका कारण उपत्यकाबाट बाहिरिनेहरूको चापका कारण राजधानीको नागढुंगा तथा थानकोट क्षेत्रमा अझै जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यकाबाट बाहिरिनेहरुको चापका गए रातिदेखि नै कलंकीदेखि नागढुंगा र त्यसभन्दा पर धादिङसम्म नै चर्को जाम रहेको थियो । जाम अहिले पनि पुरा नखुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका एसपी श्यामकृष्ण अधिकारीका अनुसार काठमाडौंको हकमा निषेधाज्ञा उलंगन गर्ने चार पांग्रे र दुई पांग्रेगरी २०० सवारी होल्ड गरिएका छन् । उनीहरुलाई बेलुका ७ बजे मात्रै छाड्ने एसपी अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्