आयोजक टिम फाइनलमा प्रवेश


केशु विरही- बेलबारी, १२ वैशाख । मोरङको सुन्दरहरैंचा स्थित शुक्रबारे खेलमैदानमा जारी प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगितामा आयोजक टिम फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा उर्लाबारीलाई नगरपालिकाले ० का विरुद्ध १ गोल प्रहार गर्दै आयोजक नगरपालिका टिम फाइनलमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भए पनि पहिलो हाफमा दुबईतर्फबाट कुनै पनि गोल हुन सकेन । पहिलो हाफमा उर्लाबारीले दबाबमा राखे पनि दोस्रो हाफमा भने उर्लाबारीले त्यो दबाब कायम राख्न सकेन । दोस्रो हाफ सकिन १ मिनेट बाँकी रहँदा आयोजक टिमका जर्सी नं. ११ का आशिष् चौधरीले पहिलो गोल लगाए । आशिष्को यही गोल नै सुन्दरहरैँचाका लागि फाइनल प्रवेश गर्ने अवसर बन्यो । आजको खेलको म्यान अफ दी म्याच सुन्दरहरैँचाका आशिष् चौधरी घोषित भए ।

उनले नगद २ हजार र मेडल हात पारे । भोलिको खेल सुन्दरहरैँचाका जनप्रतिनिधि र उद्योग वाणिज्य सङ्घबिच मैत्रीपूर्ण खेल हुने र फाइनल खेल १४ गते हुने आयोजकले जनाएको छ । विराटनगर महानगरपालिका सहित मोरङका विभिन्न ९ वटा टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगितामा विजेता टिमले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५०, शिल्ड मेडल तथा प्रमाण पत्र पाउने सहआयोजक सुन्दरहरैंचा नगरपालिका वाड नम्बर १२ का वडाध्यक्ष रोशन प्रसाद ढकालले जानकारी दिएका छन् ।

पहिलो हाफ पश्चात् दर्शक र अम्पायर बिच भएको विवादले दोस्रो हाफको खेल केही ढिलो मात्र सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्