टिकराम चापागाईँ – इलाम । इलामको देउमाई नगरपालिका ५ निवासी दुवै मृगौला पीडित दीपक लिम्बूको उपचारको निम्ति संकलित ३ लाख ६६ हजार २ सय ४८ रुपैयाँ हस्तान्तरण गरिएको छ । देश विदेशमा सञ्चालित अभियानबाट संकलित उक्त रकम मंगलबार एक कार्यक्रमका बिच उनलाई हस्तान्तरण गरिएको हो ।
कतारमा तारा चापागाईँले ३८ हजार ६ सय , गणेश लुइँटेलले २६ हजार ४ सय, तथा होम फियाले २२ हजार ८ सय २८ रुपैयाँ संकलन गरेका थिए । उता मलेसियाबाट विष्णु फियाकको अगुवाइमा १६ हजार १सय ४८ र धिरेन पोर्तेलको अगुवाइमा २० हजार ९सय ५० रुपैयाँ संकलन भएको थियो । त्यस्तै दक्षिण कोरियाबाट महेन्द्र कार्कीको अगुवाइमा ७२ हजार ७ सय रुपैयाँ तथा केशव कुँवरले २३ हजार ७ सय २२ रुपैयाँ संकलन गरेका थिए ।
नेपालका विभिन्न ठाउँबाट यसअघि ६३ हजार ९ सय ५२ रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको थियो । उनको उपचारमा हालसम्म चार लाख भन्दा बढी खर्च भइसकेको र अझै लाखौँ रुपैयाँ लाग्ने अभियन्ता राजन लिम्बुले बताए । विगत ३ वर्ष यता मृगौलामा समस्या भएर विराटनगरको नोबेल हस्पिटलमा उपचाररत लिम्बुको आर्थिक अवस्था एकदमै कमजोर बिहान बेलुका खानको समेत समस्या रहेकाले “दीपक लिम्बु बचाउ अभियान” नै सञ्चालन गरेर सो रकम संकलन गरिएको थियो । उनको घरमा श्रीमती तथा ५ बर्षिया छोरी रहेकी छन् ।
श्रीमती रेसिकाले आफ्नो श्रीमानलाई बचाउन देश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी मनहरूलाई सहयोग गरिदिनुहुन आग्रह गरेकी छिन् । दीपक लिम्बुको स्वास्थ्य अवस्था हाल सुधारोन्मुख भइरहेको राजनले जानकारी दिए । आर्थिक अवस्थाको कारणले उनले जीवन गुमाउनु नपरोस् भनेर भनेर “दीपक लिम्बु बचाउ अभियान” सञ्चालन गरिएको स्थानीय सोबित लुइँटेलले बताए । नेपाल, मलेसिया, कतार, कोरिया तथा अन्य ठाउँबाट रकम संकलन भइरहेको छ ।