सुनसरी, २ चैत । इटहरी उपमहानगरले उपभोक्ताको हितलाई मध्यनजर गरेर मासु पसलहरूलाई व्यवस्थित गर्ने भएको छ । उपमहानगरले मासु पसलहरूलाई व्यवस्थित र गुणस्तरीय बनाउन फ्रेस हाउस सञ्चालन कार्यविधि तयार गरिरहेको छ ।
उपमेयर लक्ष्मी गौतमले कार्यविधिको ड्राफ्ट तयार भइरहेको बत्ताउनुभयो । पटक पटक अनुगमन गरेर मासु पसललाई व्यवस्थित गर्न निर्देशन दिँदा पनि सुधार नभएपछि कार्यविधि नै बनाएर व्यवस्थित गरिन लागेको उहाँले जानकारी दिनुभयो ।
कार्यविधिका लागि सुझाव लिन मासु व्यवसायी हरूसँग छलफल गरिएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मासु व्यवसायी हरूसँग छलफल गरिएको हो । छलफलमा व्यवसायीले जनचेतनाको अभावले फ्रिजमा राखेको मासु उपभोक्ताले किन्न नमान्ने गरेको गुनासो गरे ।
बाहिर राखेको मासु भन्दा फ्रिजमा राखेको स्वास्थ्यकर हुने भए पनि उपभोक्ताले बाहिरै राखेको ताजा मासु खोज्ने गरेको व्यवसायीले बताए । कस्तो मासु स्वास्थ्य र उचित हुन्छ भन्ने विषयमा चेतना मूलक जानकारी लेखिएको फ्लेक्स १५ दिन भित्रमा इटहरीका सबै मासु पसलहरूमा उपमहानगरले राख्ने भएको छ ।
व्यवसायीहरूले मापदण्ड पालना नगर्ने मासु पसलहरूलाई कडाइ गर्न समेत माग गरेका छन् । यसै गरी उनीहरूले व्यवस्थित वधशालाको आवश्यकतामा जोड दिएका छन् । मासुको दर रेट तोक्न समेत माग भएको छ ।
इटहरीमा मापदण्ड विपरीत खुल्ला रूपमा मासु बेचबिखन गर्न नपाउने गरी कार्यविधि बनाएर व्यवस्थित गर्न लागिएको हो ।