सुन्दरहरैंचामा व्यवसाय गर्न चाहनेका लागि १५ लाख सम्मको कर्जा सुविधा


स्वदेशमै आयआर्जन गरी आत्मानिर्भर बन्न आवश्यक : नगर प्रमुख ढकाल

मणिराम दाहाल – सुन्दरहरैंचा । मोरङको सुन्दरहरेैंचाका न्यून आय भएका तथा विदेशबाट फर्किएर स्वदेशमै आयआर्जन गर्न च्याहाने युवाले उद्यम गर्न चाहेमा १५ लाख रुपैयाँसम्म ब्याज अनुदान कार्यविधि अनुसार कर्जा सुविधा पाउने भएका छन् ।

नगरपालिकाको सहकार्यमा नेपाल बंगलादेश बैकबाट महिलाका लागि ३ तथा पुरुषका लागि ४ प्रतिशत ब्याजदरमा ५ वर्ष भित्रमा चुक्ता गर्ने गरी कर्जा पाउने भएका हुन् । नगरप्रमुख शिवप्रसाद ढकालको कार्यकक्षमा नगरपालिकाको तर्फबाट नगरप्रमुख ढकाल तथा बैंकको तर्फबाट नेपाल बङ्गलादेशका प्रदेश प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर गर्नुअघि नगरप्रमुख ढकाल तथा बैंकका प्रदेश प्रमुख तिम्सिनाले सहुलियतपूर्ण कर्जाको बारेमा विविध आवश्यक जानकारी प्रस्तुत गरेका थिए ।

नगर प्रमुख ढकालले कर्जाका लागि आवश्यक पर्ने कागजपत्रहरू , फर्म दर्ता, चारकिल्ला प्रमाणित, घरबाटो लगायत अन्य सिफारिस नगरपालिकाले राजश्व छुट गराइ निस्शुल्क उपलब्ध गराउने बताए । उनले सहुलियत कर्जा पाउनका लागि सम्बन्धित वडामा निवेदन दिएपछि वडाले नगरपालिकालाई दिएको सिफारिसको आधारमा नगरले बैंकसँग ऋण प्रदान गर्न सिफारिस गर्ने सम्झौता भएको उल्लेख गरे । नगर प्रमुख ढकालले लिइएको ऋण खराब कर्जामा परिणत भए नगरले सो कर्जा उठाउन पहल गर्ने तथा राज्यले दिने सबै सेवा र सुविधाबाट वञ्चित समेत गर्न सक्ने बताए । उनले नगरमा रहेका अन्य बैक सँग समेत सहुलियत कर्ता सुविधाको विस्तार गर्ने आफ्नो योजना रहेको जानकारी गराउँदै कर्जा लिने व्यक्तिको तथ्याङ्क एकीकृत ढङ्गले सङ्कलन गरी लक्षित वर्गको सामर्थ्य एवम् आवश्यकताको आधारमा बैकसँग कर्जाको लागि सिफारिस गर्ने उल्लेख गरेका थिए । नगर प्रमुख ढकालले स्वदेशमै आयआर्जन गरी आत्मानिर्भर बन्न अति आवश्यक समेत भएको बताए ।

कार्यक्रममा नेपाल बङ्गलादेश बैंकका प्रदेश प्रमुख तिम्सिनाले बैंकिङ पहुँच कम भएकाहरूको लागि यो व्यवस्था गरिएको बताउँदै शिक्षित युवा स्वरोजगार शीर्षकमा अधिकतम ७ लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने जानकारी दिए । उनले विदेशबाट फर्किएका युवा, दलित युवा, स्वरोजगार बन्न चाहने युवा तथा उद्यमी बन्न च्याहाने महिलाका लागि समेत सहुलियत दरमा सरल रूपले कर्जा योजना ल्याएको बताए । प्रदेश प्रमुख तिम्सिनाले बैकले ब्याज निर्धारण गर्दा नेपाल राष्ट्र बैंकले निर्देश गरे अनुरूप आधार दरमा बढीमा वार्षिक २ प्रतिशत थप्न मिल्ने प्रावधानमा पहिले पक्षमा सिफारिस भएर आएका उद्यमीलाई थप १ प्रतिशत सहुलियत प्रदान गरी आधार दरमा बढीमा १ प्रतिशत ब्याज कायम हुने गरी कर्जा प्रवाह गर्नु पर्ने उल्लेख गरे ।

कर्जा सुविधाका लागि अडिट रिपोर्ट, प्रोजेक्ट रिपोर्ट लगायतका अन्य कागजपत्र नचाहिने तथा आवश्यक प्रक्रिया पूरा गर्न सहज र सरल हुनुका साथै ब्याजदर समेत कम भएकाले यो कर्जाबाट युवा , महिला उद्यमी, व्यवसायीहरू स्वरोजगार बन्न सक्ने बैंकका विराटचोक शाखा प्रमुख सुजन तिम्सिनाले बताए । उनले पुरुषका लागि अधिकतम ४ तथा महिलाका लागि अधिकतम ३ प्रतिशत ब्याजदरमा ऋण दिने गरी बैंकसँग सहमति भएको उल्लेख गरे । समझदारी पत्र हस्ताक्षर भएको मितिबाट २ वर्षसम्म कायम रहने भए पनि नगरपालिकाको दायित्व कर्जा बहाल रहेसम्म रहने उल्लेख गरिएको छ। समझदारी अवधि समाप्तिपछि बैक नगरपालिका दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न सक्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । कर्जा विनियमावलीको अधीनमा रही क्षमता अभिवृद्धि मार्फत स्वरोजगार सृजना गर्नका लागि कर्जा प्रवाह गर्ने उद्देश्य अनुरूप नगरपालिकाको महत्त्वाकाङ्क्षी योजना र बैकको सहकार्यमा समझदारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्