सिभिल बैंकको विस्तारित काउन्टर विराटचोकको करदाता सेवा कार्यालयमा उद्घाटन


मणिराम दाहाल – सुन्दरहरैंचा, २७ फागुन । सुन्दरहरैंचा मोरङको सुन्दरहरैंचा स्थित नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय विराटचोकमा बुधवार देखि सिभिल बैंकको विस्तारित काउन्टर उद्घाटन भएको छ । सिभिल बैंकको विस्तारित काउन्टरको कार्यक्रमका प्रमुख अतिथि तथा आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटाले विधिवत् रूपमा उद्घाटन गरेका थिए ।

उनले बैंक तथा करदाता सेवा कार्यालयबिच सुमधुर सम्बन्ध रहेको बताए । उनले बैंकको काउन्टर स्थापना भएपछि सेवाग्राहीलाई राजस्व तिर्न सहज हुने उल्लेख गरे । सापकोटाले कार्यक्रमका वक्ताहरूले राजस्व सम्बन्धी तालीम सञ्चालन गर्न आग्रह गरेकाले अहिले कर कार्यालयबाट कर शिक्षा कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा करदाता सेवा कार्यालय विराटचोकका प्रमुख नेत्र घिमिरेले सिभिल बैंकको विस्तारित काउन्टर सञ्चालनमा आए सँगै विराटचोकमा रहेको करदाता सेवा कार्यालयमा व्यवसायीलाई करसम्बन्धी आर्थिक कारोबार गर्न सहयोग पुग्ने बताए । उनले करदाता सेवा कार्यालयले विराटचोक , बेलवारी , केराबारी तथा उत्तरी मोरङका व्यवसायीलाई सेवा दिँदै आएको बताए । उनले करदाता सेवा कार्यालयमा हाल ११ हजार २ सय २५ व्यवसायले कारोबार गर्दै आएकोमा १ हजार ३५ वटा व्यवसायले मूल्य अभिवृद्धि करमा कारोबार गर्दै आएको उल्लेख गरेका थिए ।

कार्यक्रममा सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घका नव निर्वाचित अध्यक्ष कृष्णप्रसाद रिजालले व्यापारीलाई फुर्सद नहुने भएकाले यो काउन्टर स्थापना हुँदा समयको समेत बचत हुने उल्लेख गर्दे व्यापारीलाई परेको समस्या अब केही मात्रामा सावधान हुनेमा आफू आशावादी रहेको बताए । उनले विस्तारित काउन्टरले व्यवसायीहरू माझ अझ नजिक पु¥याउने विचार व्यक्त गरेका थिए । उद्योगपति तथा समाजसेवी भोलेश्वर दुलालले व्यापारी तथा करदाता कार्यालय बिचको सम्बन्ध सधैँ राम्रो हुनु पर्ने उल्लेख गरेका थिए । उनले व्यापारीहरूलाई परेको अप्ठ्यारो करदाता कार्यालयले सहजीकरण गर्नुपर्ने बताए ।

दुलालले विराटचोकमा रहेको कर कार्यालय साधुरो एरियामा सञ्चालन रहेकोले यसबाट सेवाग्राहीलाई सेवा लिन समस्या भएको हुँदा आफ्नै जमिन तथा फराकिलो भवनमा पार्किङको राम्रो सुविधा सहित कार्यालय सञ्चालन हुनु पर्ने आवश्यकता भएकोले यसतर्फ ध्यान जानू पर्ने उल्लेख गरेका थिए । कार्यक्रमको सभापति तथा बैंकको केन्द्रीय कार्यालयका डिपोजिट एण्ड ट्रान्जेक्सन’ का प्रमुख भोलाबहादुर विष्टले गरेका थिए । उनले सिभिल बैंकको हाल सम्ममा १ सय १४ वटा शाखाहरू सञ्चालनमा रहेको बताए । उनले ७ विस्तारित काउन्टर तथा ८९ एटिएमहरू यहाँहरूको सेवामा तत्पर भएको जानकारी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्