इटहरी, २४ फागुन । अव इटहरी र इटहरी आसपासका शुभ–कार्यहरूमा महिला समूहले नौमती बाजा घन्काउने भएका छन् । आज इटहरी उपमहानगरले एक महिला समूहलाई नौमती बाजा प्रदान गरेको छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा पञ्चेबाजा महिला समूहलाई नौमती बाजा प्रदान गरिएको हो । उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत महिला समूहलाई व्यावसायिक रूपमा अघि बढ्न नौमती बाजा प्रदान गरिएको उपमेयर लक्ष्मी गौतमले बत्ताउनुभयो ।
तारा निरौला संयोजक रहेको महिला समूहका महिलाले कार्यक्रममा नौमती बाजा घन्काएर सबैलाई नचाएका थिए । पुरुषले मात्र गर्ने भनिएको काम गर्न महिलालाई उत्प्रेरित गरी नौमती बाजा प्रदान गरेर नयाँ ढङ्गबाट व्यावसायिक बनाउन खोजिएको भन्दै प्रदेश १ की उपसभामुख शारदा पोखरेलले उपमहानगरको यो कदमको प्रशंसा गर्नुभएको छ ।