धरान, २१ फागुन । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रयोग हुने सफ्ट क्याडेभर (मृत शरीर) को तयारी थालिएको छ ।
आज बिहीबार प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा. डा. गुरु प्रसाद खनालको उपस्थितिमा एनेटमी विभागका एसोसिएट प्रोफेसर डा. प्रभाकर यादवले प्रतिष्ठानमा सफ्ट क्याडेभरको सम्भावनाको प्रदर्शन गरेका थिए । ‘नेपालमा यसअघि फ्रेस तथा ड्राइ क्याडेभरको प्रयोग मात्र हुने भएकोमा प्रतिष्ठानले सफ्ट क्याडेभरको सम्भावनाको खोजी गरेकोमा सफलता मिलेको हो। ’ उनले भने, ‘ड्राइ क्याडेभरमा फर्मालिन भन्ने केमिकलको मात्रा अधिक रूपमा प्रयोग हुने भएकाले त्यसले स्वास्थ्यमा नकारात्मक असर गर्ने गर्छ । वीपी प्रतिष्ठानमा तयारी गरिएको सफ्ट क्याडेभरमा स्याचुरेटेड स्लट सोलुसन प्रयोग हुने र फर्मालिनको मात्रा एकदमै न्यून हुने भएकाले आँखा पोल्ने, श्वास प्रश्वासमा समस्या हुने लगायतको समस्या हुँदैन।’ सफ्ट क्याडेभर कोठाको तापमान (च्ययm तझउभचबतगचभ) मा नै भण्डारण गर्न सकिने भएकाले भण्डारण गर्न अन्य महँगा र अत्याधुनिक उपकरणहरूको आवश्यकता नपर्ने र यसले भण्डारण खर्च घटाउने डा. यादवले दाबी गरे ।
आजको २१ औ शताब्दीमा नयाँ प्रविधिसँग सँगै नयाँ सर्जिकल उपायहरूको विकास भइरहेको छ, नयाँ र अनुभवी सर्जनहरूलाई समेत सर्जिकल तालिमको आवश्यकता महसुस भएको छ । विपी प्रतिष्ठानमा सफ्ट क्याडेभरको तयारी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएकोले नेपाल लगायत अन्य राष्ट्रहरूका सर्जनहरूलाई प्रशिक्षणको लागी निम्त्याएर प्रतिष्ठानको आम्दानीमा वृद्धि गर्न सकिनेछ । साथै यसको प्रयोग एमबिबिएस र पोस्ट ग्र्याजुएटका विद्यार्थीको अध्ययनको लागी प्रयोग गर्न सकिने डा. यादवले बताए । ‘संसारमा नै सफ्ट क्याडेभरमा सर्जरी प्रशिक्षणको लागी महँगो शुल्क तिर्नुपर्ने हुन्छ । प्रतिष्ठानमा नै उपलब्ध हुने भएपछि सर्जिकल ट्रेनिङका लागी अन्य ठाउँका सर्जनहरूबाट शुल्क लिएर प्रशिक्षण दिई आम्दानी गर्न सकिनेछ ।’ उनले भने ।
सफ्ट तथा ड्राइ क्याडेभरको बिचमा हुने फरकको विषयमा अर्थोपेडिक विभागका एसोसिएट प्रोफेसर डा. विष्णु पोखरेलले प्रत्यक्ष डाइसेकसन (म्ष्ककभअतष्यल) (चिरफार) गरेर देखाएका थिए । उनले भने, ‘सफ्ट क्याडेभर चिरेर हेर्दा अपरेसन थिएटरमा जीवित व्यक्तिको सर्जरी गरे जस्तै हुने, जोर्नीहरू चलायमान हुनाले जटिल शल्यक्रिया गर्नु पूर्व सफ्ट क्याडेभरमा शल्यक्रियाको अभ्यास गरी बिरामीमा शल्यक्रिया गर्दा त्रुटि हुने सम्भावना न्यून हुन्छ ।’
नेपालको मेडिकल क्षेत्रमा सफ्ट क्याडेभरको प्रयोग ऐतिहासिक कार्य हुने प्रतिष्ठानका उपकुलपति प्रा. डा. गिरीले बताए । यसलाई तत्काल प्रयोगमा ल्याउनका लागी एनेटमि विभागसँग छलफल गरी कार्य अगाडी बढाउने समेत उनले प्रतिबद्धता जनाए ।