केराबारीका अध्यक्ष कार्कीकै मिलेमतोमा खोला दोहनको आरोप : गाउँपालिका कार्यालयमा तोडफोड


सरोज बस्नेत – उर्लाबारी, १७ फागुन । केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीको मिलेमतोमा खोला दोहन भएको भन्दै गाउँपालिका तोडफोड गरेका छन् ।
क्रसर उद्योगले मोरङको केराबारी–८ स्थित खदम खोलामा जथाभाबी उत्खनन गरी जनतालाई उठिबास लगाउन खोजेको भन्दै सयौँ संख्यामा गाउँपालिका पुगेका स्थानीयवासीले तोडफोड गरेका हुन् ।

उनीहरूले गाउँपालिकाको अगाडि पट्टीको सिसा फुटाइदिएका छन् । जनताका प्रतिनिधि नै खोला दोहनको मतियार बनेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्थानीयको भनाई छ । लामो समयदेखि स्थानीयबासीहरुले खोला दोहनका कारण उठिबास हुने अवस्था सिर्जना भएको भन्दै दबाब दिँदै आएका थिए । तर, स्थानीय निकायले यसप्रति गम्भीर ध्यान नदिएको आरोप छ ।

ठेकेदार भीम पौडेल, गाउँपालिकाका अध्यक्ष कार्कीलगायतको मिलेमतोमा खोला दोहन भइरहेको स्थानीय बताउँछन् । खोला किनारमा ठूल्ठूला खाल्डा बनाएको र खोलामा च्यानल बनाउनु पर्नेमा किनाराबाट गिट्टी खनेर लैजाने गरेकाले बस्ती नै जोखिममा परेको भन्दै स्थानीय चन्द्र लिम्बूले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो । उहाँले गाउँपालिका घेराउ गर्न जाँदा प्रहरी प्रशासन लगाएर कुटपिट गरेको बताउनुभयो । उहाँले बस्तीको संरक्षणका लागि आफूहरू मर्न तयार रहेको बताउनुभयो ।

स्थानीयका अनुसार अवैध उत्खननले केराबारी गाउँपालिका वडा नं। ८ को आमजुङीका करिब ५०० घरपरिवार जोखिम परेको छन् । गाउँपालिका कार्यालय घेराउसहित स्थानीयले ठेकेदार पौडेल तथा गाउँपालिका अध्यक्ष कार्कीविरुद्ध नाराबाजी गरेका छन् । ठेकेदार पौडेलको क्रसरले मापदण्ड विपरीत करिब ३० फिट गहिराइ सम्म उत्खनन गरिरहो र त्यसमा गाउँपालिका अध्यक्षको समेत संलग्नता रहेको स्थानीयको दाबी छ ।

गाउँपालिका कार्यालयमा तोडफोड भएपछि ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । यसअघि आक्रोशित स्थानीयले क्रसरको भवनसमेत तोडफोड गरेका थिए । उनीहरूले चरम दोहन नरोकेसम्म आन्दोलन नरोक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्